किशोरी हत्या प्रकरण: अझै सुरु भएन बयान | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

किशोरी हत्या प्रकरण: अझै सुरु भएन बयान

nirmala panta

कञ्चनपुर, १४ भदौ । भीमदत्त–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानक्रममा पक्राउ परेका रोशनी र बबिता बमसँग अझै बयान सुरु भएको छैन । सूचना संकलन नसकिएकाले बयान लिन ढिलाइ भएको प्रहरीले जनाएको छ ।

‘बयान सुरु भएको छैन, हामी सूचना संकलनमै छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कडायतले भने । बयान सुरु नगरिकनै बम दिदीबहिनीलाई थुनामा राख्न यसअघि लिएको ६ दिनको म्याद बिहीबार सकिँदै छ । बिहीबारै म्याद थप्न लागिएको कडायतले जानकारी दिए । ‘भोलिसम्मको म्याद छ, फेरि थप्ने तयारीमा छौं,’ उनले भने । अनुसन्धान टोलीले आवश्यक सूचना संकलन, घटनास्थल र शंकास्पद बम परिवारको घरको अध्ययन गरिरहेको बताए ।

बम दिदीबहिनीलाई अनुसन्धान दायरामा ल्याउन माग गर्दै स्थानीय र आफन्तले प्रदर्शन चर्काएपछि प्रहरीले गत शुक्रबार उनीहरूलाई पक्राउ गरेको थियो । नयाँ आएका एसपी कडायतले प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गर्ने भन्दै उनीहरूलाई पक्राउ गरे पनि ६ दिनसम्म बयान सुरु नहुँदा स्थानीयवासी सशंकित बनेका छन् ।

निर्मलाको बलात्कारपछि हत्या भएकै दिनदेखि उल्टाखाम र भगतपुर क्षेत्रका महिला र बालबालिका त्रासमा छन् । त्यसमाथि प्रहरीले घटनालगत्तै गाउँलेलाई नियन्त्रणमा लिएर अपराध स्वीकार्न दबाब दिन थालेपछि त्रास झन् बढेको छ । ‘अझ पनि वास्तविक अपराधी पत्ता नलागे तिनको मनोबल बढ्छ,’ स्थानीय एक महिलाले भनिन्, ‘यो घटनाको अनुसन्धान छिटो होस् र सत्यतथ्य बाहिर आओस् भन्ने हामी चाहन्छौं ।’

उक्त घटनापछि महिला र बालबालिका एक्लै हिँड्नसमेत डराउन थालेका छन् । ‘एक महिनाभन्दा बढी भइसक्यो,’ उल्टाखामकै स्थानीय रतन ओझाले भने, ‘अहिलेसम्म अपराधी पत्ता नलाग्दा महिला र बालबालिका निकै डराएका छन्, त्यसैमा प्रहरीको यातना दिने कार्यले झन् त्रास बढाएको छ ।’

राती कफ्र्यु यथावत्
गत शुक्रबारको घटनापछि स्थानीय प्रशासनले लगाउँदै आएको कफ्र्यु अझै पूर्ण रूपले हटेको छैन । प्रहरीले सोमबारदेखि दिउँसो कफ्र्यु हटाएर राति ८ बजेदेखि बिहान ३ बजेसम्म लगाइरहेको छ । अवस्था सहज बन्दै गएकाले कफ्र्युको समय घटाउँदै लगेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत उदयराज जोशीले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);