काठमाडौं, ७ भदौ । सांसदहरुले बिभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधीसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विशेष गरेर मुलुकभर बढ्दै गएका हत्या, हिंसा, बालिका बलात्कार र हत्या लगायतका घटनामा संलग्न अभियुक्तलाई कडा कारवाही गरि शान्ति सुव्यवस्था कायम गराउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी अबिरल बर्षासंग मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाईते भएकालाई उपचार र ज्यान गुमाएकालाई राहत र घरबारविहिन भएकालाई उचित पुनवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद दिपक प्रकाश भट्टले कंचनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनापछि दोषिलाई कारवाहीको माग दैनिक रुपमा देखिएको आन्दोलन जटिल बन्दै गएको भन्दै घटनाको सत्य तथ्य अनुसन्धानका लागि संसदीय समिति गठन गर्न माग गरे ।
सांसद मोहन आचार्यले रसुवा जिल्लामा अबिरल बर्षासंगै बिभिन्न स्थानमा आएको पहिरोमा परि ठूलो धनजनको क्षति भएको भन्दै घाईतेको स्वास्थ्य उपचार र मृतकका पीडितलाई राहत उपलब्ध गराउन सरकारसंग माग गरे ।
साउन १० गते गोसाईकुण्ड गाउँपालिका टिमुरेमा आएको पहिरोमा परि ९ जनाको ज्यान गएको तथा साउन १८ गते गोसाईकुण्ड जान हिडेका एक तीर्थ यात्रुको पहिरोमा परि मृत्यु भएको तथा चीनसंगको रसुवागढी नाका एक महिना देखि बन्द रहेको तथा दर्जनौ स्थानमा खसेको पहिरोका कारण पासाङ ल्हामु राजमार्गमा यातायात प्रभावित हुँदै आएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
भुकम्प पश्चात जिल्लाका विभिन्न स्थानमा धांजा फाटेकाले सुख्खा र हिले पहिरोको जोखिम अत्याधिक रहेको भन्दै त्यस स्थानको भौगर्भिक अवस्थाको अध्ययन गरि समस्याको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुर्य पाठकले संघीयताको प्रभावकारी कार्यान्वयन, विदेश नीति तथा बैदेशिक रोजगारको क्षेत्रमा पनि उपलब्धिमुलक काम भएको भन्दै सरकारको बचाउ गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध र संघीयता विरोधी भ्रम फैलाउने काम गरेको उनको आरोप छ ।
सांसद सुजाता कोइरालाले प्रतिपक्षी दलले दुई तिहाईको सरकारको सफलता हेर्न चाहेको भन्दै सहमतिका साथ अघि बढ्न सुझाव दिइन् । मुलुकको राजनीतिक अस्थिरतालाई समाप्त पारी विकासका लागि चालिएका सकारात्मक कदमलाई कांग्रेसले सधै साथ दिने उनले बताईन् ।




