काठमाडौँ, ६ भदौ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय निर्वाचनको तयारी सुरु गरेको छ ।
व्यवस्थापिका संसदबाट संविधान संशोधन विधेयक फेल भएपछि राजपाका नेता निर्वाचनको तयारीमा जुटेका हुन् । यद्यपी सो पार्टीले निर्वाचन आयोगबाट चुनाव चिन्ह भने पाएको छैन । संशोधन विधेयक फेल भएपनि आफूहरु निर्वाचनको तयारीमा लागेको राजपाका नेता केशव झाले बताएका छन् ।
माउण्टेन टेलिभिजनसँग कुरा गर्दै नेता झाले आफूहरुले संसदको निर्णयलाई मानेको भन्दै अब निर्वाचनमार्फत नै मधेसी जनताका अधिकार सुनिश्चित गर्नतिर लाग्ने जनाएका छन् ।
विधेयक असफल हुँदैमा आफूहरु हारेको भन्ने प्रचारबाजी गलत भएको उनको भनाइ थियो । यसअघि संविधान संशोधन हुनुपर्ने माग १० प्रतिशत सांसदको मात्रै भएको भनिएपनि संशोधन विधेयकको पक्षमा परेको मतले भने विपक्षकाहरु अल्पमतमा रहेको देखाएको उनको तर्क छ ।
राजपाले संसदबाट आउने निर्णय स्वीकार हुने बताएपछि सरकारले संसदमा विधेयक निर्णयार्थ पेश गरेको थियो । तर आवश्यक बहुमत नपुगेपछि सोमबार संसदबाट नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ अस्वीकृत भएको थियो ।