भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

काठमाडौं, ३१ साउन । भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको ९३ बर्षको उमेरमा निधन भएको छ । गत ११ जुनमा स्वास्थ्यमा समस्या देखिएपछि बाजपेयीलाई अस्पताल भर्ना गरिएको थियो । निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय राजनीतिज्ञ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएको थियो ।

सन् २००९ मा हृदयघात भएपछि स्वास्थ्यकै कारण बाजपेयी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका थिए । भारतको इतिहासमै प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने बाजपेयी एकमात्र गैर कांग्रेसी नेता हुन् ।

उनले १९९९ देखि २००४ सम्म प्रधानमन्त्रीको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए । दुई पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्छन् ।

बाजपेयीले सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका छन् ।

सन् १९२४ मा मध्यप्रदेशको ग्वालियरमा जन्मेका बाजपेयीको राजनीति जीवन सन् १९४२ मा तत्कालीन इष्ट इण्डिया कम्पनीविरुद्धको भारत छोडो आन्दोलनबाट सुरु भएको थियो । उनको दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);