कांग्रेस विधान समिति बनेन, नाम माग्ने, दिने र फेर्ने मात्रै काम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस विधान समिति बनेन, नाम माग्ने, दिने र फेर्ने मात्रै काम

congress

काठमाडौं, ३१ साउन । १६ वैशाखमा निर्वाचन समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समितिको समापन बैठकले भदौभित्रै महासमिति गर्ने निर्णय गर्यो ।

मुलुकको नयाँ संघीय संरचनाअनुसार पार्टीको विधान बनाएर पार्टीलाई नयाँ संरचनामा डोर्याउने कामका लागि यथाशिघ्र विधान मस्यौदा समिति बनाउने निर्णय पनि सोही बैठकले गरेको थियो । तर केन्द्रीय समितिबाट महासमितिको टुंगो लगाएको तीन महिना बित्दा पनि कांग्रेसले तत्कालका लागि महासमिति त टार्यो नै, नयाँ संरचनाअनुसार विधानको ड्राफ्ट बनाउनका लागि बनाइने विधान मस्यौदा समिति पनि बनाउन सकेको छैन । जसका कारण कांग्रेसको विधान र नयाँ संरचनाको अन्योल तल्लो स्तरसम्म पनि कायम नै छ ।

विधान मस्यौदा समितिका लागि नेताहरुबीच सहमति जुटेको भनिए पनि समितिमा बस्ने सदस्यहरुको नाम साटफेरमै नै नेताहरु अल्झिन थालेका छन् । भागबन्डाबाट समितिमा बस्ने सदस्यहरुको नाम टुंग्याएको बताइए पनि हालसम्म पनि समिति घोषणा हुन सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच विधान समिति ९ वा ११ सदस्यीय हुने भन्नेमा भने लगभग सहमति छ । यस्तै समितिको संयोजक सभापति समूहले लिने र बाँकी सदस्य बराबर बाँड्ने भन्नेमा पनि शीर्ष नेतृत्व सहमत छन् ।

पछिल्लो समय वरिष्ठ नेता पौडेलले समितिको सदस्यका लागि सभापति देउवालाई दिएको नाममध्ये नेता गगन थापाको नाम झिकेर प्रदीप पौडेलको नाम पठाएका छन् । पौडेलले डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी र गगन थापाको नाम पहिले देउवालाई बुझाएका र हाल थापाको नाम झिकेर पौडेलको नाम फेर्न भनेको देउवा निकट स्रोतले बताएको हो ।तर प्रदीप पौडेलले भने नेता थापा र आफूबीचको सहमतिबाटै आफ्नो नाम सिफारिस गरिएको बताए ।देउवा समूहले त्यसैलाई बहाना बनाएर नाम झिक्ने र थप्ने गरेका कारण समिति घोषणा गर्न ढिला भएको बताउँदै आएको छ ।

कांग्रेस कार्यवाहक सभापति विमलेन्द्र निधिले समितिका विषयमा सहमति भइसकेको बताए । उनले पार्टी सभापति स्वदेश फिर्ता भएलगत्तै विधान समितिको घोषणा हुने जानकारी दिए । देउवा समूहले भने महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाएर नेताहरू रमेश लेखक, मानबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की र चित्रलेखा यादवलाई समितिको सदस्य बनाउने तयारी गरेको छ । तर यादवको ठाउँमा भने महालक्ष्मी उपाध्याय ‘डिना’को नाम पनि पर्न सक्ने सम्भावना रहेको देउवा स्रोत बताउँछ ।

निर्वाचनको हारपछि चोट बेहोरेको कांग्रेसले पछिल्लो समय बिस्तारै हारको चोट बिर्सँदै गएको छ । निर्वाचनपछि जोडतोडका साथ शिघ्र महाधिवेशनको मुद्दा उठाउनेहरूसमेत महासमिति तोकिएको मितिमा नहुँदा पनि मौन छन् ।
कांग्रेसकै केही शीर्ष नेताहरुले भने महासमिति अब तिहारपछि हुने बताउँदै आएका छन् ।

कांग्रेसको विधानको धारा २० मा उल्लेख भएअनुसार महासमिति बैठक महाधिवेशनको वर्षबाहेक प्रत्येक वर्ष गर्ने उल्लेख छ । विधानतः कांग्रेसको महाधिवेशन प्रत्येक चार वर्षमा एकपटक हुने गर्छ । सो अवधिमा निर्वाचित भएको केन्द्रीय समितिले कम्तीमा एक कार्यकालमा दुईपटक महासमिति बैठक बोलाउनुपर्ने हुन्छ । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);