दर्शक थरीथरीका | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

दर्शक थरीथरीका

darshak

काठमाडौँ, ३० साउन । नाटक सकिएपछि रंगकर्मी सरिता गिरी तुरुन्तै दर्शकमाझ देखिन मन पराउँछिन् । आफ्नो अभिनय मन पर्‍यो कि परेन  यसको जवाफ दर्शकबाट तुरुन्तै पाउँदा उनलाई आनन्द लाग्छ ।

सरिता मण्डला थिएटरमा शनिबार दिउँसो चाहिँ चकितै परिन् । ‘सकेको तिरौंला नत्र फिरीमा’ नाटक मञ्चनपछि उनी त्यसै गरी दर्शकबीच गएकी थिइन् । झन्डै डेढ दशकपहिले कलेज पढदाका साथीहरू पनि दर्शकदीर्घामा रहेछन् । उनलाई थाहै नदिई नाटक हेर्न आएका ।

‘दर्शक बनेर आएका आफ्नै साथी भेटदा गदगद भएँ,’ सरिताले कान्तिपुरसँग भनिन्, ‘यही मौकामा सेल्फी खिचेर फेसबुकमा राखिहालें ।’ सरु शाह र सिर्जना थापाले पनि नाटकबारे आफ्नी रंगकर्मी साथीलाई तुरुन्तै प्रतिक्रिया दिइहाले । यो एउटा उदाहरण हो, नाटकका दर्शकहरू कस्ता हुन्छन् भन्ने कुराको । ती विशुद्ध दर्शक मात्रै नभई रंगकर्मीकै साथीभाइ पनि हुन सक्छन् । सरिताका अनुसार, उनलाई मञ्चमा हेर्न पनि गुरुकुलदेखिका नियमित दर्शक आइरहेका हुन्छन् । विविध दर्शक पाइरहेको सुनाउने उनलाई एक वर्षपहिले ‘बोक्सीको घर’ मञ्चनका क्रममा एक दर्शकको व्यवहारले अचम्मित पारेको घटना अझै ताजै रहेछ ।

‘ती युवा निकै भावुक हुँदै मेरो सामु रुन थाले,’ सरिताले सुनाइन्, ‘एक मनले खुसी पनि लाग्यो र अर्को मनले के गरुँगरुँ भएको थियो ।’रंगमञ्चको विशेषता नै दर्शकले कलाकारको प्रत्यक्ष अभिनयको स्वाद लिने र कलाकारले पनि दर्शकलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिनुरदिनु हो । पछिल्लो समय रंगमञ्चमा दर्शकमा पनि विविधता पाउन थालिएको रंगकर्मीहरू सुनाउँछन् । फिल्म हेर्नभन्दा धेरै नाटक हेर्न धाउने दर्शक पनि छन् ।

कोटेश्वरका सञ्जु श्रेष्ठलाई एक वर्षयता रंगमञ्चको लतै लागेको छ । उनी केही सातापहिले टेकुमा कौशी थिएटर पुगेका थिए, ‘मिस्टर फक्स एन्ड द स्कुलब्वाई’ हेर्न । उनले कौशीको ठेगाना सामाजिक सञ्जालमार्फत पत्ता लगाएका थिए । नयाँ नाटक केके लागेका छन् र कहाँ कस्ता थिएटर खुलेका छन् भन्ने जानकारी उनी राखिरहन्छन् । सुरु–सुरुमा नाटक नबुझ्ने गरे पनि कलाकारलाई प्रत्यक्ष हेर्न पाइने र अभिनय बुझ्न पाइने भएपछि उनलाई रंगमञ्चको रस बस्दै गएछ । त्यसपछि त उनी नाटकका नियमित दर्शक हुन थाले । ‘अहिले त लतै बसिसक्यो,’ उनले भने, ‘भ्याएसम्म नाटक कुनै छुटाउन मन लाग्दैन ।’

बागबजारकी इन्दिरा राईलाई फिल्म बासी खाना जस्तो लाग्छ । ‘नाटक हेर्दाको ताजापन फिल्मको रिलभित्र पाउन सकिँदैन,’ दुई वर्षदेखिको अनुभव साझा गर्दै उनले थपिन्, ‘नाटक जीवन्त लाग्छ । पैसा खेर गएको महसुस हुँदैन । ठगिएको जस्तो लाग्दैन ।’ हिजोआज धेरै दर्शक बटुल्ने लोभमा व्यापारिक खाले नाटक देखाउन थाल्दा गुणस्तर खस्किएको हो कि भन्ने शंका भने उनलाई लागेको रहेछ ।

रंगकर्मी अशेष मल्ल जब सर्वनाम थिएटरमा दर्शकको भीड देख्छन्, ३५ वर्षपहिले आफूहरूले देखेभोगेको नाट्य परम्परा सम्झन्छन् । पञ्चायतकालका बेला उनले नाटक देखाउँदा प्रहरीले चौघेरामा राख्दा पनि उनका दर्शकले साथ नछोडेको क्षण ताजै लाग्छ । एउटा रंगकर्मीका लागि दर्शकको शक्ति कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा अशेषले त्यति बेलैदेखि महसुस गरे । जनताले भन्न नसकेका कुरालाई आफूले नाटकमार्फत मुखर बनाउँदा दर्शकको ताली हलभरि गुन्जिन्थ्यो ।

‘उति बेलाका दर्शक साह्रै संवेदनशील थिए,’ उनले सुनाए, ‘कलाकार निराश हुन्छन् भनेर नराम्रै गरे पनि नराम्रो प्रतिक्रिया झट्ट दिँदैनथे । अहिलेको पुस्ता चाहिँ सोच र चेतको हिसाबले धेरै माथि उठेको छ । चित्त नबुझेका कुरा प्रस्ट औल्याइदिने हुँदा कलाकार र रंगमञ्चले तिखारिने अवसर पाएका छन् । अडियन्सलाई छल्न सकिँदैन अचेल । रंगमञ्चको चुनौतीमध्ये यो पनि एउटा हो ।’

शिल्पी थिएटरका घिमिरे युवराजले चार महिनादेखि पुराना दर्शक कम देखेका छन् । कुनै बेला वर्षौंदेखि निरन्तर आउने दर्शक हुन्थे । अहिले ती अनुहार देखिन छाडेको उल्लेख गर्दै उनले भने, ‘नाटकमा नयाँ दर्शक आउनु आवश्यक छ तर रंगकर्मीलाई पुराना दर्शकको पनि उत्तिकै महत्त्व हुन्छ । जति पुराना दर्शक हुन्छन् उनीहरूबाट उति नै गुणात्मक प्रतिक्रिया पाइन्छ । नयाँ दर्शकले नाटक झुरै देखाए पनि राम्रो छ भन्छन् । पुराना दर्शकले हामीलाई केही फरक काम गर्न दबाब सिर्जना गर्छन् ।’

युवराजका अनुसार नाटक हेर्न पनि दर्शकमा परिपक्वता चाहिन्छ । कम्तीमा छ वटा नाटक हेरेपछि दर्शकले नाटकको गुणस्तर महसुस गर्न सक्ने उनले बताए । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);