‘नाटकलाई भाषा चाहिँदैन’ | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

‘नाटकलाई भाषा चाहिँदैन’

natak

काठमाडौँ, ११ कात्तिक । ‘नबोलीकनै आफ्नो कथा भन्नुस्, हात नचलाई नै अभिनय गर्नुस्  । यो जानिसकेपछि मात्रै संवाद र प्रप्सहरूको प्रयोग गर्दा नाटक राम्रो बन्छ  ।

नेदरल्याण्डकी रंगकर्मी कारो डी फाइटरले शुक्रबार मित्रपार्कस्थित तत्सम आर्टस्मा नेपालका दुई दर्जन बढी नेपाली युवा रंगकर्मी अघिल्तिर यी वाक्य बारम्बार दोहोर्‍याइरहिन् । कारोले भनेजस्तै नबोलीकन र हात नचलाई अभिनय गर्न गाह्रो थियो । तर १७ वर्षीय सिमान्त पुडासैनीले एउटै नाटकमा बडी बिल्डर, ट्रक ड्राइभर र बेहुलाको भूमिका नबोलीकनै गरेर देखाए । नाटक सकिइसकेपछि सिमान्तले भने, ‘बिनाभाषा शारीरिक हाउभाउले मात्रै आफ्ना धेरै कुरा भन्न निकै गाह्रो हुँदो रैछ ।’ दुई वर्षदेखि नाट्य क्षेत्रमा क्रियाशील सिमान्तलाई थिएटरमा अभिनय सिक्दा ताका सुरुमै संवाद बोल्न सिकाएको सम्झिए ।

तर कारोले भने सुरुमा शुद्ध अभिनय मात्रै गर्न अर्‍हाएपछि उनलाई नयाँ लाग्यो । ‘नेपालका नाटक र फिल्म वा कलाकारिता संवादको भरमा टिकेका छन् या भाषाप्रधान छन्,’ उनले भने, ‘अनुहारको हाउभाउ र शारीरिक हाउभाउले मात्रै अभिनय गर्ने ‘साइलेन्ट कमेडी’ कलाकार निकै कम देखेको छु हाम्रोमा ।’भाषाप्रधान हुँदा कुनै पनि नाटक या फिल्म कुनै एक भाषा बोल्ने समुदायमा मात्रै सीमित रहने उनको ठम्याइ छ । नबोलीकनै अभिनय गर्न जान्यो भने नेपाली नाटक र नेपाली विषयवस्तु विश्वले हेर्ने र बुझ्ने बन्न सक्ने उनले दाबी गरे । त्यसका लागि भाषा बुझेन भनेर बस्नु नपर्ने उनी बताउँछन् ।

सिमान्तले कारोको दुइटा कार्यशालामा भाग लिइसकेका छन् । उनलाई कारोले सिकाएको नयाँ अभिनय गर्ने शैली मन पर्छ । सिमान्त भन्छन्, ‘नेपाली कलाकारहरूको समस्या पनि अभिनय र उनीहरूको क्यारेक्टरमा विविधता नहुनु हो । एउटा कलाकार हरेक फिल्ममा उस्तै पात्रको भूमिकामा देखिन्छ । न कथामा विविधता छ, न अभिनयमा । त्यसैले अभिनयमा विविधता ल्याउन सिक्दा हामीलाई नै राम्रो हुन्छ ।’

कलाकारको अभिनय र बडी ल्यांग्वेजमा संवाद र हातको मुभमेन्ट मिसाएपछि कथा राम्रोसित दर्शकलाई बुझाउन सकिने कारोले बताइन् । नाटकमा फिल्मजस्तो धेरै समय र धेरै प्रविधिहरू प्रयोग गरिँदैन । त्यसैले कारो सानो ठाउँमा दर्शकलाई बाँधिराख्ने सूत्र नै अभिनय मान्छिन् । भन्छिन्, ‘सानो ठाउँमा कलाकारले दर्शकलाई कसरी कनेक्ट गर्ने भन्ने कुरा जान्नु पर्दछ ।’

कारो तीन महिना यता नेपालका विभिन्न नाट्य समूहहरूसित कार्यशाला गरिसकेकी छन् भने नेपालका विभिन्न गाउँहरूमा नाटक लिएर पुगेकी छन् । तत्सम आर्टस्मा सञ्चालित कार्यशालामा सहभागीहरू सबै नयाँ पुस्ताको देख्दा उनी खुसी भइन् । उनका अनुसार नेपाली नाट्य क्षेत्रलाई नेदरल्यान्डभन्दा भिन्न देखाउने सूत्र पनि यही नै हो ।
‘नेदरल्यान्डमा ठूला–ठूला सरकारी भवनमा नाटक देखाइन्छ । र, नाटकमा पाका कलाकार र हेर्ने दर्शक उच्च घरानाका हुन्छन्,’ कारो भन्छिन्, ‘नेपालमा नाटक गर्न पाको र हेर्न उच्च घरानाकै हुनुपर्छ भन्ने रहेनछ । गाउँमा सामान्य मानिसको अगाडि पनि नाटक गरेको देख्दा अचम्म लाग्यो ।’ नेदरल्यान्डमा ‘सामाजिक र राजनीतिक परिर्वतनमा नाटकले पुर्‍याएको सहयोग’ बारे स्नातकोत्तर गरेकी उनलाई नेपालमा नाटकले पनि सामाजिक परिवर्तन र जागरणका लागि महत्त्वपूर्ण काम गर्न सक्ने प्रबल सम्भावना छ भन्ने लाग्छ ।

१५ वर्षदेखि नाट्य क्षेत्रमा प्रवेश गरेकी ३० वर्षीया मञ्जु गिरीले एक दर्जनभन्दा बढी कार्यशालाहरूमा भाग लिइसकेकी छन् । तर उनलाई पनि कारोको कार्यशाला भने भिन्न लाग्यो । ‘कलाकारहरू समयअनुसार संसारका नयाँनयाँ शैलीसित अपडेटेड भइरहनुपर्छ,’ उनले भनिन्, ‘नबोलीकनै आफ्ना भावना सम्प्रेषण गर्ने तरिका सिक्दा रमाइलो लाग्यो ।’ दुई वर्षअघि मात्रै स्थापित तत्समका संस्थापक निर्देशक दिपेश पौडेलका अनुसार कार्यशाला हरेक शुक्रबार ८ हप्तासम्म चल्नेछ । परफर्मिङ आर्टमा युवापुस्तालाई आकर्षित गराउनका लागि खोलिएको तत्समले कलाकारहरूको दुई ब्याच तयार पारिसकेको छ । तत्समकै श्याम खडाका अनुसार नाट्य क्षेत्रमा युवापुस्ताको आकर्षण लोभलाग्दो छ ।

‘तर कलाकारहरू जति उत्पादन भइरहेका छन्, त्यसअनुसारको मार्केटमा डिमान्ड हुन्छ वा हुन्न भन्ने च्यालेन्ज छ,’ उनले भने, ‘हामी नाटक रंगमञ्चमा मात्रै नभई नाटककै अन्य पाटोहरूमा समेत काम लागोस् भन्ने कोसिस गरिरहेका छौँ ।’कान्तिपुरबाट