यस्तो छ अहिलेसम्म मन्त्री अधिकारीले गरेको कार्यप्रगति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

यस्तो छ अहिलेसम्म मन्त्री अधिकारीले गरेको कार्यप्रगति

काठमाडौं, २८ साउन । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका काम बारे संघीय संसदलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै उनले मन्त्रालय मातहतका कार्यप्रगतिबारे सदनलाई जानकारी गराएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण, निजगढ, भैहरवा, गौतमवुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति, सम्पदा पुर्ननिर्माण लगायतबारे सदनलाई जानकारी गराए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण गरि २४ सै घण्टा संचालनमा आउने प्रबन्ध मिलाउन लागेको बताए ।

बर्षाद पछि गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भए लगत्तै सन् २०१९को फेबु्रअरीको दोश्रो हप्ता देखि दैनिक ८ घण्टा उडान अवतरण वन्द गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने उनले बताए ।

२०१९ जुन सम्म धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको उनले अवगत गराए । नेपाल वायुसेवा निगमको उडान र सेवाको प्रभावकारीता बढ्दै गएकोमा उनले जोड दिए । वाईडवडी जहाज खरिद प्रक्रियाका बारेमा सदन र सदनबाहिर पनि विभिन्न प्रश्न उठेको भन्दै उनले त्यसबारे मन्त्रालयले शुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए ।

उनले भूकम्पबाट क्षतिग्रस्त सम्पदा मध्ये पाटनको कृष्णमन्दिर लगायत १ सय ८५ वटा सम्पदाको पुर्ननिर्माण सम्पन्न भएको बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मुल्यांकन स्वीकृत भईसकेको र दुई हप्ता भित्र मोडालिटी पनि तय हुने बताए । उनले मुआब्जा लगायत पुर्व तयारीका काम एक महिना भित्र सुरु हुने जानकारी दिए ।

पोखरा विमानस्थलका लागि भने आवश्यक भएमात्रै बाँकि जग्गा अधिग्रहण गरिने बताए । मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि संसदबाट पास भईसकेपछि विदेशी र स्वदेशीबीच विमा रकममा विभेद नहुने स्पष्ट पारे ।