अवैध रूपमा भित्रिन्छन् भारतीय गुट्खा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अवैध रूपमा भित्रिन्छन् भारतीय गुट्खा

gutkha

वीरगन्ज,  २६ साउन ।  वीरगन्ज र आसपासका क्षेत्रमा भारतीय गुटखा अवैध रूपमा भित्रिने गरेको पाइएको छ । गत आव ०७४/७५ मा वीरगन्ज भन्सार नाकाबाट राजस्व दाखिला गरी रजनीगन्धा, पानपराग, राजनिवास, कमलापसन्द लगायतका भारतीय गुटखा भित्रिएको विवरण छैन ।

भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवका अनुसार कुनै पनि भारतीय गुटखा राजस्व तिरेर वीरगन्ज भित्रिएको छैन । तर, वीगन्जको प्रत्येक पान पसल र किराना पसलमा भारतीय गुटखा निर्वाध रूपमा बिक्री भइरहेका छन् ।

नेपाली ग्राहकको पहिलो रोजाइ पनि भारतीय गुटखा नै रहेको बिक्रेता बताउँछन् । १० रुपैयाँदेखि ४० रुपैयाँसम्ममा बिक्री हुने गुटखाको आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैयाँ अन्तशुल्क लाग्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भन्सार राजस्व छली बजारमा निर्वाध गुटखा बिक्री भइरहे पनि सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन ।

गत साउन १२ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सीमावर्ती भारतीय बजारबाट अवैध रूपले ठूलो परिमाणमा गुटखा वीरगन्ज भित्र्याउने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको थियो । विशेष सूचनाका आधारमा प्रहरीले शनिबार साँझ करिब ७ बजेको समयमा वीरगन्ज महानगरपालिका ८ दुर्गा हल अगाडिबाट जेएच०९जे३१११ नम्बरको भारतीय स्कारपियो जाँच गर्दा ४ बोरा गुटखा बरामद गरेको थियो ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै गाडी चालक भारत मोतीहारी निवासी रामरोशन कुमार र वीरगन्ज निवासी गुट्खा व्यापारी गौतम चौरसियालाई सार्वजनिक गरेको थियो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार बोराभित्र बिलबिजन नभएका ८० थान रजनीगन्धाको बट्टा, ६ हजार ४ सय ८० पिस रजनीगन्धाको सानो पुरिया, ५ सय पिस रजनीगन्धाको ठूलो पुरिया, एक सय ९० पिस तुलसी मसला बरामद भएको थियो । थप कारबाहीका लागि बरामद सामानसहित दुई जनालाई वीरगन्ज भन्सार कार्यालय पठाइएको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);