अजितकुमार झा, सुनसरी, ५ भदौ । सुनसरीका बाढीपीडितले राहत वितरणमा स्थानीय जनप्रतिनिधिबाटै विभेद भएको बताएका छन् । केही दिनअघि आएको बाढीका कारण पीडित बनेकाहरुले पार्टीमा भोट नदिएकै कारण राहतमा विभेद गरेको उनीहरुको आरोप छ ।
सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका वडा नम्बर १०, जल्पापुरकी कुसमीदेवी रामको दुखेसो हो यो । जल्पापुरमा करिब ३० परिवार दलित समुदायले अहिलेसम्म कुनै राहत पाएका छैनन् । बाढीका कारण कयौं दिनदेखि भोकभोकै रहँदा समेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै राहत नदिएको स्थानीयको आरोप छ ।
इनरुवा नगरपालिका–१० का वडाअध्यक्ष मोहमद सुल्तानले भने पीडितहरुको आरोपलाई अस्वीकार गरेका छन् ।
स्थानीय बाढीपीडितले भने वडाअध्यक्ष सुल्तानले गलत बोलेको दाबी गर्दै पीडितमाथि भोट नदिएकै कारण अन्याय भएको बताइरहे । गाउँ पुगेका सञ्चारकर्मीसँग पीडित रुवाबासी गर्दै र भक्कानिँदै आफूहरुलाई राहत र बसोबासको वातावरण मिलाइदिन माग गरेका थिए ।




