जिम्बाब्बेमा राष्ट्रपति निर्वाचनको परिणामको विषयलाई लिएर विरोधमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

जिम्बाब्बेमा राष्ट्रपति निर्वाचनको परिणामको विषयलाई लिएर विरोधमा प्रदर्शन

zimbabewa election

एजेन्सी, १७ साउन । जिम्बाब्बेमा राष्ट्रपति निर्वाचनको विरोधमा राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको मृत्यु भएको छ ।

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको हो । विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ । तर राष्ट्रपति इमरसन मनंगाग्वाले हिंसा भड्कनुमा स्वयं विपक्षी दल जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् ।

जिम्बाब्बेमा ३७ वर्ष शासन गरेका रोबर्ट मुगाबे सत्ताच्युत भएपछि सोमबार पहिलोपटक निर्वाचन भएको थियो । निर्वाचनको परिणाममा सत्तारुढ दल जानु–पीएफ पार्टीले फराकिलो अग्रता बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर, विपक्षी गठबन्धन एमडीसीले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । जानु–पिएफले फराकिलो अग्रता बनाइरहेको भए पनि अहिलेसम्म औपचारिक परिणाम सार्वजनिक भएको छैन ।

परिणाम घोषणामा भइरहेको ढिलाइप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् । चुनावको पर्यवेक्षण गरेको युरोपेली युनियनले राष्ट्रपति चुनावको नतिजा सार्वजनिकमा ढिलाइ नगर्न आग्रह गरेको छ ।