सवारीसाधनमा डिजीटल नम्बर प्लेट जडान गर्न सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

काठमाडौँ, ५ भदौ । सरकारले सवारीसाधनमा डिजिटल अर्थात इम्बोस्ड् नम्बर प्लेट जडान गर्न सुरु गरेको छ ।

सरकारले सवारी दुर्घटना न्युनिकरण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न भन्दै सवारीसाधनमा पहिलो पटक इम्बोस्ड् नम्बर प्लेट जडान गर्न सुरु गरेको हो । इम्बोस्ड् नम्बर प्लेट जडानवापत सवारीधनीले मोटरसाइकलका लागि दुई हजार पाँच सय, तीन पाङग्रे सवारी साधनका लागि दुई हजार नौ सय, चार पाङ्ग्रे सवारी साधनका लागि तीन हजार दुई सय र ठूला सवारीका लागि तीन हजार छ सय रुपैयाँ तिर्नुपर्छ । यो नम्बर प्लेटबाट सवारीसाधन र सवारीधनीको विवरणका साथै राजस्व असुलीको अवस्था समेत थाहा हुन्छ । इम्बोस्ड् नम्बर प्लेट जडानपछि चोरीका गाडीको दर्ता रोकिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागले पहिलो चरणमा सरकारी सवारीसाधनमा मात्र इम्बोस्ड् नम्बर प्लेट जडान गर्न सुरु गरेको छ । विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले निजी सवारी साधनमा इम्बोस्ड् नम्बर प्लेट जडान गर्न अझै केही महिना लाग्ने बताए ।

विभागले आफ्ना सबै कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट दिइने बताएको छ । विभागले ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड् नम्बर प्लेट जडानको लक्ष्य लिएको छ । त्यो लक्ष्य पूरा गर्न कार्ययोजना बनाएर काम गर्ने प्रवक्ता पाण्डेले बताउनुभयो । विभागले हाल प्रयोगमा रहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारका नम्बर प्लेटमा सीमित गर्ने व्यवस्था मिलाएको छ । राष्ट्रपतिको सवारीसाधनमा नेपाली झण्डा र नेपालको निसान छाप सहितको निलो, सार्वजनिक सवारीसाधनमा पहेंलो प्लेटमा कालो, निजी सवारीसाधनमा सेतो प्लेटमा कालो, सरकारी सवारीमा सेतो प्लेटमा रातो र कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने व्यवस्था गरिएको छ । विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड् नम्बर प्लेट जडानवापत ठेकेदार कम्पनी डेकाटुर टाइगर आइटीलाई चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर अर्थात ४ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);