काठमाडौं, ५ भदौ । हाम्रो समाजमा एउटा भनाइ छ, मच्चियो-मच्चियो थच्चियो ! नयाँ शक्ति निर्माणमा जुटेका बाबुराम भट्टराईको हकमा पनि यहि भनाइ लागू भएको छ। ठूलो उत्साहका साथ भट्टराई वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै लागे पनि संगठन विस्तार हुन नपाउँदै सेट ब्याक भएर रन्थनिएका छन्। सुरुवाती चरणमा बाबुरामलाई ठूलो पंक्तिले साथ दिएको भए पनि यतिबेला अधिकांश नेता कार्यकर्ता साथ छाड्दै अन्यत्र लागेका छन्।
माओवादी आन्दोलनमा छँदा वर्षौं साथ दिएका नेता कार्यकर्ताहरु समेत बाबुरामसँग मोहभंग भएर अन्यत्र लागेपछि बाबुराम नेतृत्वको नयाँ शक्ति घर रित्तोप्रायः बनेको छ।माओवादीबाट बाबुराम बाहिरिए पछि उनलाई एक्लै छाड्न नहुने भन्दै देवेन्द्र पौडेललगायत दर्जन नेता पछि लागेका थिए । तर, देवेन्द्रलगयत अधिकांश नेता बाबुराम भन्दा त प्रचण्डकै घर सुरक्षित भन्दै पुरानै घरतिर फर्किने अन्तिम तयारीमा छन्।
माओवादी पृष्ठभूमिका १७ जना भरपर्दा नेता फर्किने भएपछि अब माओवादी पृष्ठभूमिबाट आएका केही नेता मात्रै जसोतसो नयाँ शक्तिमा रहेका छन् । जनयुद्धको पृष्ठभूमिबाट आएका कैयन नेताहरुले नयाँ शक्ति छाडेपछि अब केही थान नेता मात्रै बाँकी बसेका छन् । बाबुरामको साथ तत्काल छाड्न नहुने मुडमा रहेका नेताहरुमा गंगानारायण श्रेष्ठ, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, प्रेम तामाङ, वीरबहादुर तामाङ, बन्दना सुवेदी लगायत रहेको बताइन्छ।
मधेसमाथि ठूलो भरोसा राखेर नयाँ शक्ति निर्माण गर्न हौसिएका बाबुरामको संगठन त्यहाँ लगभग शून्यमा झरेर टुंगिएको छ। रामचन्द्र झा, रामकुमार शर्माहरुले नयाँ शक्तिको संगठन विस्तारमा योगदान दिएको भए पनि उनीहरु आफैं थाकेर पुरानै घर ओवादीमै फर्केका छन्। साँघु साप्ताहिकमा खबर छ।