काठमाडौं, १४ साउन । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । संविधान संशोधनको मुुख्य विषयमा सरकार गम्भीर नभएको भन्दै राजपाले समर्थन फिर्ता लिने तयारी गरेको राजपाका नेताहरुको भनाइ छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको राजपाका नेताहरु समर्थनको आधार सरकारले भत्काउँदै लगेको बताउन थालेका छन् । संसदमा प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा दिएको सकारात्मक अभिव्यक्ति तथा राजपासँगको समझधारीसमेत पालना नभएका कारण प्रधानमन्त्रीलाई समय दिएर समर्थन फिर्ता लिने तयारी रहेको राजपाका नेताहरुको भनाई छ ।
प्रधानमन्त्री आफैले संविधानसंशोधनसहितका विषयमा प्रतिबद्धता जनाएकोमा अहिले विर्सिएझै गरेको भन्दै राजपा नेताहरुले यही साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दवाव दिएका थिए । तर, एतिका दिनसम्म पनि माग संबोधन गर्न प्रधानमन्त्रीको कुनै पहल कदमी नदेखेपछि रजपा समर्थन फिर्ताको गृहकार्यमा जुटेको हो । मधेस राजनीतिका विश्लेषकहरु आफ्ना मुद्धासहित राजनीतिक समर्थन दिएको दलले मुद्धा सुनुवाई नभएपछि समर्थन फिर्ता लिनुलाई स्वभाविक भएको टिप्पणी गर्नेगरेका छन् ।
राजपाका नेताहरुले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आफना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता र कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई सांसदको रुपमा सपथ गराउने लगायतका बिषयमा सरकार आफैले गरेको प्रतिबद्धता पुरा नगरेपछि पछि हट्न बाध्य भएको बताउँछन् ।
संसदको विपक्षी बेन्चमा बस्दै आएको रापाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा पनि सरकार अंक गणितका कारण कुनै समस्या पर्ने छैन । विगतमा पनि सरकारमा सहभागि नभइ सर्थन दिएको राजपाले समर्थन फिर्ता लिएर प्रधानमन्त्रीको राजनीतिक इमान्दारितामा प्रश्न उठाउने तयारी गरेको छ । समर्थन फिर्ता भएमा संसदमा सरकारकाका लागि कांग्रेस बाहेक अर्को विपक्ष मिल्ने छ भने त्यसले ल्याउने राजनीतिक परिणामे भोलिका दिनमा देखिदै जानेछन् ।




