प्रतिक्षा शर्मा
काठमडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएसँगै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको तत्परता बढेको छ ।
मन्त्री महासेठले मन्त्रालयका अधिकारीसहित विभागीय प्रमुखसमेत लिएर सडक अनुगमन तथा सुधारका लागि निस्किएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले शनिबार कंलकी–नागढुंगाकाको नौ किलोमिटर सडक अनुगमन गरेका छन् । सडकमा देखिएका खाल्डा खुल्डीलाई भदौ १२ गते भित्रै बनाईसक्न उनले निर्देशन दिएका छन् । निर्देशन दिने क्रममा तालुकदार निकायका अधिकारी समेत मन्त्री महासेठका साथमा थिए ।
मन्त्रालयकै अधिकारी सहित सडक विभाग, क्षेत्रीय सडक निर्देशनालय, काठमाडौं उपत्यका सडक विस्तार आयोजना सहितको जम्बो टोली लिएर अनुगमनमा गएका मन्त्री महासेठले चोक चोकमा गाडीबाट झरेर अनुगमन गरेका थिए ।
मन्त्री महासेठले तालुकदार अड्डाका अधिकारीलाई एक महिनाभित्र सडक नबनाए कारवाही गर्ने चेतावनी दिइरहँदा त्यही रहेका स्थानीय भने मन्त्रीको निर्देशन कार्यान्वउयन हुनेमा आश्वस्त हुन सकिरहेका थिएनन् ।
राजधानी भित्रने मुख्य नाकाको रूपमा रहेकाे यो सडक दुइ वर्षदेखि यस्तै दुरा अवस्थामा छ । सडकको स्तरोन्नती गर्न प्रचण्ड नेतृत्वको सरकारका यातायात मन्त्री रमेश लेखकलले यसैगरी अनुगमन र निर्देशन गरेपनि अझैसम्म सडकको सुधार भने हुनसकेको छैन ।