प्रधानमन्त्रीको निर्देशनपछि सडकका खाल्डाखुल्डी धमाधम पुरिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्रीको निर्देशनपछि सडकका खाल्डाखुल्डी धमाधम पुरिदै

sadak

अप्सरा गौतम
काठमाडौँ, १८ मंसिर । काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य शुरु भएको छ । दुई महिनाभित्र उपत्यकाका सडकका खाल्डाखुल्डी पुरिने गरी काम शुरु गरिएको छ । यसरी सडकका खालडाखुल्डी पुरिन थालेपछि सर्वसाधारण पनि खुशी देखिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंसिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६ र ७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको निर्देशनपछि उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम धमाधम भईरहेको छ । यो अभियान अन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भएको छ भने अन्य ठाउँहरुको सडकमा पनि काम भईरहेको छ ।

सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्य भए नभएको अनुगमन गर्ने अनुगमन टोली गठन गरी परिचालन समेत गरिएको छ । मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी र दोस्रो चरणमा काठमाडौँ बाहिरका राजमार्ग तथा सडकहरूको खाल्डाखुल्डी पुरिने योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको छ ।

सडकका खाल्डाखुल्डीले सवारी जाम, दुर्घटनामा बृद्धि तथा अन्य समस्याहरु उपत्यकाबासीले झेल्दै आईरहेका छन् । प्रधानमन्त्री बदलिएपिच्छे सडकका खाल्डाखुल्डी पुर्न निर्देशन हुने तर कार्यान्वयन नहुने परिपार्टीले उपत्यकाका बासिन्दा आजित भएका छन् । तर अब भने काम धमाधम भएकाले आशाबादी भएको कतिपयको भनाई छ ।

काठमाडौँ सडक डिभिजन कार्यालय अन्तर्गत रहेका ९३ वटा, ललितपुर सडक डिभिजन कार्यालय अन्तर्गत पर्ने ३८ वटा र भक्तपुर सडक डिभिजन कार्यालय अन्तर्गत पर्ने १९ वटा सडकका खाल्डाखुल्डी पुरिने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);