यस कारण मन्त्री तामाङले दिए राजीनामा ! | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

यस कारण मन्त्री तामाङले दिए राजीनामा !

sherbahadur-tamang

फूलमाया आले
काठमाडौं, ८ साउन
। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोधपछि मन्त्री तामाङले राजीनामा दिएका हुन् ।

केही दिन अघि नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने आफ्नो मतलाई बलियो पार्न मन्त्री तामाङले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरु सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको भनेर अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति विवादमा परेपछि मन्त्री तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भए ।

जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे । पत्नी उषाकला राईसँगै उपस्थित भएका मन्त्री तामाङले महिलाहरुको हक अधिकारका लागि काम गरेको तर आफूलाई त्यही विषयले लखेटेको भन्दै गुनासो गरे ।

मन्त्री तामाङले आफ्नो ४ महिने कार्यकालमा गरिएको कामको फेहरिस्त प्रस्तुत गर्दै मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानुन तयार भइसकेको बताए । त्यस्तै मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून अगाडि बढेको र उक्त कानुन क्याविनेटको बाटो हुँदै संसदबाट पारित हुने र ती कानुनहरु असोज २ गते मध्यरातसम्म पारित हुने उनको भनाई छ ।

नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो । उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक अलोचना भएको थियो ।