काठमाडौं, ८ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कारण बैठक स्थगित गरिएको स्पष्ट पारेका छन् ।
मंगलबारको राष्ट्रियसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष तिमल्सिनाले बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरुले अबरोध गरेपछि बैठक स्थगित भएको बताए । उनले राष्ट्रियसभाले प्रभावकारी रुपमा काम गरिरहेको दाबी गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कारण बैठक स्थगित भएको दाबी गरेको छ । कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले सत्तारुढ दलका सांसदहरुले आफूहरुलाई बोल्न नदिने षड्यन्त्र गरेपछि अबरोध गर्नुपरेको बताए ।
बैठकमा सत्तारुढ दल र प्रतिपक्ष दलका सांसदहरुबीच बोल्ने विषयमा विवाद भए पछि बुधबार सम्मका लागि बैठक स्थगित गरिएको थियो ।