डडेल्धुरा, ५ साउन । लगातारको वर्षाका कारण डडेल्धुरामा रहेको एक मात्र कबर्ड हल भत्किएको छ । जीर्ण अवस्थामा रहेको कबर्ड हल पनि भत्किएपछि इनडोर खेलहरु प्रभावित भएका छन् ।
आज भन्दा ३४ वर्ष पहिले निर्माण भएको डडेल्धुराको एकमात्र कबर्ड हल वर्षाका कारण भत्किएको हो । जिल्लाको खेलकुद संरचना लगायत खेलकुद गतिविधि सञ्चालन गर्ने जिम्मेवारी पाएको जिल्ला खेलकुद विकास समिति नै सम्बन्धित निकायले चासो नदिँदा कबर्ड हल भत्किएको गैरजिम्मेवार अभिव्यक्ति दिइरहेको छ ।
जिल्लामा रहेको एकमात्र कबर्डहल भत्किएपछि इन्डोर खेलहरु प्रभावित भएका छन् । ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेस जस्ता खेलहरु खेलाउन समस्या भएपछि खेलाडिहरुले तत्काल कबर्ड हल बनाउन माग गरेका छन् ।
अमरगढि नगरपालिकाले भने कबर्डहल बनाउन पहल गर्ने आश्वासन दिएको छ । सरकारले हरेक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने उद्घोष गरिरहँदा भएका संरचनाको पनि संरक्षण हुन सकेको छैन ।




