काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जुम्लामा २० दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौं ल्याउने निर्णय गरेको छ ।
नेकपाको बुधबार बेलुका बसेको आकस्मिक बैठकले केसीलाई तत्काल काठमाडौं ल्याएर उपचार गराइ उनको मागका विषयमा खुला छलफल गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार सम्भव नरहेको निष्कर्षसहित उनलाई काठमाडौं ल्याएर उपचार गराइ मागबारे खुला छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले केसीको स्वास्थ्य जटिल बनिसक्दा पनि सरकार गम्भीर नभएको भन्दै आलोचना भइरहेको र यसबाट सरकार र पार्टी दुवैलाई क्षति पुग्ने भएकाले माग सम्बोधनमा ढिलाइ गर्न नहुने धारणा राखेको स्रोतहरुले बताएका छन् । दाहाल र नेपालले सडकमा भइरहेको आलोचनालाई नजरअन्दाज गर्न नहुने बताएपछि सचिवालय बैठकले केसीलाई आज काठमाडौं ल्याउने निर्णय गरेको हो ।