काठमाडौं, ४ भदौ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन राजधानीमा सुरु भएको छ। ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ आज राजधानीको प्रज्ञा भवनमा सुरु भएको महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
महाधिवेशनमा देश विदेशबाट गरी एक हजार पाँच सय १८ जना प्रतिनिधिले सहभागिता जनाएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूची अनुसार महाधिवेशनमा स्वदेशबाट एक हजार ५०८ र प्रवासबाट ८ जना मतदाता सहभागी भएका छन्।
नयाँ नेतृत्वका लागि हरेक तीन/तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चुन्ने छ। महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।




