कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध

sadan

काठमाडौं, ३२ असार । प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सरकार अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति गैह्र जिम्मेबार ढंगले प्रस्तुत भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्यालाई सम्बोधन गर्नुपर्नेमा विगतका सबै समस्यालाई ज्युँकात्युँ राख्दै यस क्षेत्रमा थप विसंगति निम्त्याउने र माफियाहरुलाई चलखेल गर्न अझै सहज बनाउने गरि सरकारले राष्टिय चिकित्सा शिक्षा विधेयक २०७५ पेस गरेको कांग्रेसले जनाएका छ ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठकको कार्य सुरु भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । लगत्तै सभामुखबाट समय लिएर बोलेका सांसद मिनबहादुर विश्वकर्माले सरकार समस्या समाधानमा भन्दा समस्या बल्झाउने नियतमा उद्धत भएको भन्दै आपत्ती जनाए ।

सरकार संसदमा प्रतिपक्षीले उठाएका आवाज सम्बोधन गर्नुको सट्टा संसदलाई नै मजाक बनाउँदै अभिव्यक्ति दिने गरेको भन्दै उनले आपत्ति जनाए ।

कांग्रेसका सांसदहरु उभिएर विरोध जनाईरहेपछि नेकपाका सांसद कृष्णभक्त पोखरेलले संसद नियमावलिको नियम ६ ले बैठक संचालनका लागि सबै दलका सदस्यले सहयोग गर्नुपर्छ भनिएको उल्लेख गर्दै नियमित प्रक्रियाबाट विधेयक ल्याउँछ भने समर्थन गर्छौ भन्ने दलले फेरी प्रक्रिया अघि बढाउन नदिएर संसदीय गतिरोध गर्न नमिल्ने बताए । अल्पमतले वहुमतलाई कानुन नै बनाउन दिन्न भन्ने विश्वमा कुनै दृष्टान्त नभएको भन्दै उनले विरोध स्वीकार्य हुन नसक्ने बताए ।

सभामुखको पटक पटकको अनुरोधका बाबजुत कांग्रेस सांसदहरु यथा स्थानमा उभिईरहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरे । सोमबारको बैठकको कार्यसुचीमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद गगन कुमार थापा, प्रेम सुवाल, सरिता गिरीले प्रस्तुत गरेको विरोधको सुचनालाई निणयार्थ गर्ने कार्यतालिका थियो ।

साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);