काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समिति गठनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले नियमावली बनेको तीन साता हुँदा पनि संसदीय सुनुवाई वाहेकका समिति गठन नभएपछि यस विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने भएका हुन् । कांग्रेसले संघीय संसद्का १६ मध्ये ५ वटा समितिको नेतृत्वमा दाबी गर्दै आएको छ । प्रधानमन्त्री ओलीले संघीय संसद्मा तीन नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुसँगको छलफलमा आफू जनताको चासोका विषयमा बहस गर्ने संघीय संसद् केही मान्छेको स्वार्थ पूरा गर्ने थलोको रुपमा प्रयोग नहोस् र संसदीय समिति जतिसक्दो चाँडो गठन हुन् भन्ने पक्षमा रहेको बताए ।
उनले संसद् अवरुद्ध हुन नदिन र संसदीय समिति चाँडो गठनका लागि नेपाली कांग्रेससँग छलफल गरेर निक्र्योलमा पुग्ने बताएको छलफलमा सहभागी सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए । छलफलमा सहभागी सांसदहरुले आमजनताले सरकारबाट ठूलो अपेक्षा गरेको भन्दै बजेटको प्रभावकारी कार्यान्वयन गरेर अपेक्षा सम्बोधन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।