इंग्ल्यान्डविरुद्ध क्रोएसिया : तीन मुख्य भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्ल्यान्डविरुद्ध क्रोएसिया : तीन मुख्य भिडन्त

modric-kane

एजेन्सी, २७ असार । इंग्ल्यान्डको युवा टोलीले शनिबार क्रोएसियाको अनुभवी टोलीविरुद्ध विश्वकप सेमिफाइनल खेल्दै छ । खेलको विजेता टोली मस्कोस्थित लुजनिकी रंगशालामा हुने फाइनल खेलका लागि छनोट हुनेछ ।

इंग्ल्यान्ड २८ वर्षयता पहिलोपल्ट सेमिफाइनल पुगेको हो । त्यसअघि एकपल्ट मात्र फाइनल पुगेको इंग्लिस टोलीले सन् १९६६ मा घरेलु मैदानमा उपाधि नै जितेको थियो । क्रोएसिया भने हालसम्म सेमिफाइनल पार गर्न सकेको छैन । पछिल्लोपल्ट सन् १९९८ मा सेमिफाइनल पुग्नु नै टोलीको सबैभन्दा राम्रो नतिजा थियो । यसपालि उत्कृष्ट खेलाडीसँगै भाग्यमानी साबित भएको क्रोएसिया पहिलो उपाधि जित्न दुई जित टाढा छ ।

यस बहुप्रतीक्षित सेमिफाइनलमा नतिजा निर्धारण गर्नसक्ने तीन महत्त्वपूर्ण भिडन्त यस्तो छ :

लुका मोड्रिचविरुद्ध जोर्डन हेन्डरसन

हेन्डरसनको नेतृत्व, अनुशासन र खेलशैलीकै कारण गारेथ साउथगेटको रणनीति सफल भएको छ । मोड्रिचले मैदानको बीचमा रहेर डिफेन्स चिर्ने पास, उत्कृष्ट गोल र विपक्षीको लय तोड्ने प्रदर्शन गरिरहेका छन् । विश्वकपमा पूरै समय खेलेका चार खेलमा उनले तीन म्यान अफ द म्याच उपाधि पनि जितेका छन् ।

काइरन ट्रिपियरविरुद्ध इभान पेरिसिच

ट्रिपियर जारी विश्वकपका उदाउँदा स्टारमा देखिएका छन् । क्रोएसियाविरुद्ध भने पेरिसिचले उनलाई रक्षात्मक रूपमा चुनौती दिनेछन् । इन्टर मिलानबाट खेल्दै आएका पेरिसिचले अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका ११ खेलमा ५ गोल गरेका छन् । क्रोएसियाको आक्रमणमा इंग्ल्यान्डलाई खतरा हुने उनी मुख्य खेलाडी हुन् ।

ह्यारी केनविरुद्ध डेजान लोभरेन

इंग्ल्यान्डका कप्तान एवं केनविरुद्ध लोभरेनको इतिहास राम्रो छैन । अक्टोबरमा प्रिमियर लिगअन्तर्गत टोटेनहमले लिभरपुललाई ४–१ ले पराजित गर्दा केनविरुद्ध खराब प्रदर्शन गरेका लोभरेन आधा घण्टामै परिवर्तित भएका थिए ।

लोभरेनविरुद्ध केनले ५ खेलमा ५ गोल गरेका छन् । जारी विश्वकपमा ६ गोल गरिसकेका केन यस खेलमा थप गोल गर्दै गोल्डेन बुट पक्का गर्ने दाउमा हुनेछन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);