काठमाडौं, २० असार । असार १५ देखि २० गते सम्म मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी २६ जनाले ज्यान गुमाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्याएको क्षतिको विवरण दिदै १५ गते देखि आजसम्म २६ जनाको मृत्यु भएको जानकारी दिए । बाढीमा परि २ जना बेपत्ता भएका छन् भने झण्डै दर्जन घाईते भएका छन् ।
गृहमन्त्रीले दिएको जानकारी अनुसार, कैलालीमा १, बाँकेमा ४, सिन्धुलीमा २, रोल्पामा ३, चितवनमा १, पर्सामा २, काठमाडाैँमा १, सर्लाहीमा २ जना, तनहुँमा २, उदयुरमा १, सिरहामा १, दाङ १, मकवानपुरमा २, महोत्तरी १, बर्दियामा १ र बारामा १ जनाको मृत्यु भएको छ ।
उनले बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि स्पष्ट पारे । उनले मौसमविद्हरुको पुर्व अनुमान ठुलो क्षतिको संभावनालाई मध्येनजर गर्दै सरकारले जोखिम न्युनिकरणका लागि आवश्यक तयारी गरिएको जानकारी दिए ।
उनले विपत जोखिम न्यूनिकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पुर्व तयारी भईरहेको बताए । मन्त्री थापाले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरि जोखिमयुक्त स्थान पहिचान गरि राहत सामाग्री पुर्याउने काम भईरहेको बताए ।
उनले सेना प्रहरी र सम्बन्धित निकायलाई र केन्द्रको युनिटलाई २४ सै घण्टा सर्तक अवस्थामा राखिएको स्पष्ट पारे । मन्त्री थापाले केन्द्रदेखि स्थानीय तह सम्म विपत सामनाका लागि संयन्त्र गठन गरिएको र आवश्यकता अनुसार सेना र प्रहरी परिचालन गर्ने गरि सर्तक राखिएको बताए ।
उनले पहिरोका कारण अवरुद्ध सडक खोल्नका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको जानकारी दिए । सांसदहरुले मुलुकभर बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसंग माग गरेका थिए ।