नेपालको निर्माणदेखि हस्पिटलसम्ममा विदेशी नागरिकहरु कार्यरत | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

नेपालको निर्माणदेखि हस्पिटलसम्ममा विदेशी नागरिकहरु कार्यरत

काठमाडाैं । नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हबाइ उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए । यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् ।  चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् ।

भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठूलो संख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिननपर्ने भएकाले उनीहरुको अभिलेख सरकारी रेकर्डमा खासै देखिँदैन ।विभागका महानिर्देशक चक्रपाणी पाण्डेले अहिले संख्यात्मक रूपमा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै चिनियाँ नागरिकले नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार वर्षेनी करिव १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गरिरहेका छन् ।

त्यस्तै बेलायत (युके) बाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापनबाट पनि १ सय भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् । ठूलो संख्यामा भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका भएपनि उनीहरूले श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक संख्या अभिलेखमा नरहेको पाण्डेले बताउनु भयो । उहाँकाअनुसार नेपाल–भारतबीच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिनु नपर्ने व्यवस्था छ । तथापि, केही प्रतिष्ठानमा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।
नेपालको श्रम ऐनअनुसार बढी दक्ष कामदारलाई बढीमा ५ वर्ष र अन्य प्राविधिकलाई ३ वर्षसम्म काम गर्न दिने व्यवस्था छ । बढी दक्ष कामदारले पुनस्र्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम नविकरण गराएर बस्न पाउने व्यवस्था छ ।

विभागका अनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजना जस्ता प्रविधि आधारित ठूला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् । चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिकहरूको संलग्नता देखिन्छ । यस्तै, नेपालमा सञ्चालित ब्रिटिस स्कुलहरूमा युकेका नागरिकहरू कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक कार्यरत छन् । केही अस्पतालमा विदेशी डाक्टर कार्यरत छन् । केही एयरलाइन्स कम्पनीहरूमा विदेशी स्टेशन म्यानेजर छन् भने कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।

नेपाल सरकारसँग परियोजना सम्झौता गर्दा कतिपय विदेशीलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिने भएपनि अधिकांशले श्रम स्वीकृति लिनैपर्छ । कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।

निर्माण क्षेत्रमा ठूलो मात्रमा भारतीयहरु

भारतीय मजदुरको नेपालमा आएर काम गर्नेको अभिलेख राम्रोसँग नराखिएपनि निर्माण क्षेत्रमा ठूलो मात्रमा भारतीयहरु रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउनुहुन्छ । उहाँकाअनुसार नेपालका निर्माण क्षेत्रमा अहिले पनि करिव ७ लाख भारतीय मजदुर कार्यरत छन् । नेपालमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरको अभाव चरम छ । विदेशीने होडले गर्दा मजदुर नपाइएको र भारतबाट ठूलो संख्यामा मजदुर ल्याउन परेको सिंह बताउनु हुन्छ । उहाँकाअनुसार भारतका गाउँगाउँमा गएर मजदुर ल्याउनुपर्ने अवस्था छ । अहिले मजदुर ल्याउने होड चलेको छ, जसमा धेरैलाई आश्वासन दिएर झुक्याउने प्रवृत्ति पनि बढेको छ । निर्माण कम्पनीहरूबीच प्रतिस्पर्धा हुँदा मजदुर तानातान हुने र पेश्की दिएको रकम फिर्ता लिनसमेत कठिनाइ हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

कतिपय अवस्थामा २५ लाखमा सहमति गरेको काममा अन्य कम्पनीले २७ लाख प्रश्ताव गर्दा मजदुरले धोका दिएर अन्यन्त्रै जाने गरेका छन्, जसले गर्दा समय नोक्शानी हुने गरेको सिंह बताउनु हुन्छ । सिंहकाअनुसार एउटा मजदुर टोली ल्याउन ५–७ दिन लाग्ने गरेको छ । सिंहले उद्योगधन्दा र निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको संख्या २० लाखभन्दा बढी हुनसक्ने आकलन गर्नुभयो ।

सिंहकाअनुसार निर्माण क्षेत्रमा कार्यरत भारतीय मजदुर नेपाली भन्दा फरक हुन्छन् । नेपाली श्रमिकहरू विदेश जाँदा कम्तीमा दुई वर्षका लागि जाने गर्छन् भने भारतीय मजदुरहरू नेपालमा बढीमा ६ महिना काम गरेर फर्कने गरेका छन् । श्रमिकको सम्मान र काम गर्ने वातावरण अभावका कारण नेपालीहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने, काम गर्ने अवसर सिर्जना गर्नुपर्ने र श्रमको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply