संविधान संशोधनका विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेतालाई राष्ट्रपतिको आग्रह-
काठमाडौँ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दलका शीर्ष नेतालाई शितल निवास डाकेर पछिल्लो राजनीतिक र बाढी-पहिरोका विषयमा छलफल गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बाढी पहिरोबाट भएको मानविय क्षति र भौतिक क्षतिका विषयमा चाँसो प्रकट गरेकी छन् । बाढी पहिरोबाट डुबानमा परेका, बेपत्ता भएका, पहिरोका कारण ज्यान गुमाएका, र बेपत्ता भएका नागरिकको तत्काल खोज, उद्धार गर्न शीर्ष नेताहरुलाई राष्ट्रपति भण्डारीले अनुरोध गरेकी छन् ।
बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन शीर्ष नेतासमक्ष उनले आग्रह गरिन् ।
सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने अवस्थाले राष्ट्रहित नगर्ने भएकाले साझा परराष्ट्र नीति ल्याउन शीर्ष नेतालाई राष्ट्रपतिले आग्रह गरेका नेता नारायणकाजी श्रेष्ठले बताए । राष्ट्रपति भण्डारीले संविधान संशोधनका विषयमा सहमति जुटाउन पनि तीन दलका शीर्ष नेताहरुसँग आग्रह गरेकी छन् ।
आजको छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो ।




