कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बाढी प्रभावित जिल्लामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बाढी प्रभावित जिल्लामा

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी प्रभावित जिल्ला रौतहट, सर्लाही र सप्तरीको स्थलगत अवलोकन गरेका छन् ।
शुक्रबार कृषि विकासमन्त्री रामकृष्ण यादव तथा सिंचाईमन्त्री सञ्जयकुमार गौतमलाई लिएर बाढी प्रभावित जिल्लामा पुगेका नेता पौडेलले त्यहाँको वस्तुस्थितिबारे स्थानीय तहका जनप्रतिनिधि तथा पीडितसँग छलफल गरी जानकारी लिए ।

नेता पौडेलले स्थानीय नदीमा बाँध बाधेर बाढी र डुबाउ नियन्त्रणमा सरकारले तत्काल काम गर्ने बताए । बागमती नदीको कटानबाट डुबानको समस्या भोगेका रौतहटवासीलाई नेता पौडेलले सिंचाईको सुविधा कायम राख्दै नदीको बाँध बाँधेर सबैको सुरक्षाको वन्दोबस्त मिलाईने भन्दै धैर्य गरी विपत्तिको सामना गर्न आग्रह गरे ।
बाढीले पुर्याएको क्षतिको अनुगमन गरेपछि कृषिविकास मन्त्री रामकृष्ण यादवले कृषिमा पुगेको क्षतिको एकिन विवरण संकलन गर्ने काम भईरहेको भन्दै त्यसपश्चात राहतको घोषणा गरिने बताए । अन्न, तरकारी, तेलहन, दलहन, माछा खेती लगायतमा पुगेको क्षतिको विवरण संकलन गर्ने काम भएको भन्दै उनले छिटै् राहतको कार्यक्रम ल्याईने आश्वासन दिए ।
कृषि विकास मन्त्रालयले मुलुकका ५ वटै विकास क्षेत्रमा हालैको बाढीले अन्नबाली, तरकारी बाली तथा माछा खेतिमा गरी ३ अर्ब ६४ करोड ३४ लाख मुल्य बराबरको क्षति पुगेको प्रारम्भीक तथ्यांक सार्वजनिक गरेको छ ।
सबै भन्दा बढी मध्यमाञ्चलका १० जिल्लामा बाढीले २ अर्ब ६५ करोड १४ लाखको अन्नबाली, तरकारी, माछा पालन लगायतमा क्षति पुगेको छ । त्यसैगरी पुर्वाञ्चलमा ६५ करोड ५० लाख, सुदुर पश्चिमाञ्चलमा १० करोड ८३ लाख, मध्यपश्चिमाञ्चलमा २१ करोड ४९ लाख तथा पश्चिमाञ्चलमाा ५७ लाख बराबरको क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार, १ लाख ९८ हजार ६ सय ९८ हेक्टरको धानखेती, २९ हजार १ सय ३७ हेक्टरमा लगाएको तरकारी खेती, ३ हजार ५ सय ६१ हेक्टरमा गरिएको माछा पालन,८ हजार ३ सय ५२ हेक्टरमा लगाएको मकै बाली तथा १ हजार १ सय ११ हेक्टर क्षेत्रफलको दलहन, केरा ५३ हेक्टर, बदाम १५ हेक्टर , तेलहन १५ हेक्टर, माछाका भुरा १५ हेक्टर, तथा १ दशमलब ३४ हेक्टर क्षेत्रफलमा लगाएको कोदो बालीमा क्षति पुगेको मन्त्रालयले प्रारम्भीक अनुमान गरेको छ ।
बाढी र डुबानग्रस्त जिल्लाको अनुगमन पछि सिंचाईमन्त्री सञ्जय गौतमले तत्काल नदीमा बाँध बाधी धार परिर्वतन गरेको नदीको पानी पुर्ववत फर्काई सुरक्षा प्रधान गर्ने तथा सिंचाईको पर्याप्त व्यवस्था मिलाउने काममा पैसाको कमी नहुने प्रतिवद्धता जनाए ।
तराईका जिल्लामा आएको बाढी र डुबानमा परि अहिले सम्म १ सय ३५ जनाको मृत्यु भएको छ । ३० जना अझै पनि हराईरहेका छन् । बाढी र डुबानका कारण पुगेको भौतिक क्षतिबारे विभिन्न मन्त्रालयले आ आफ्ना अनुमानका तथ्याङक सार्वजनिक गरेपनि सरकारले एक्किन तथ्याङ्क सार्वजनिक गर्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);