एजेन्सी, १६ असार । आप्रवासन सम्बन्धी नयाँ सम्झौतालाई लिएर युरोपली संघका नेताहरुबीच गम्भीर मतभेद देखिएको छ । बेल्जियमको ब्रसेल्समा हिजो झण्डै नौ घण्टा लामो शिखर बैठकमा युरोपेली संघका नेताहरुले आप्रवासन सम्बन्धी नयाँ नीति बनाएका थिए ।
तर, लगत्तै नेताहरुबीच देखिएको मतभेदले युरोपमा आप्रवासी समस्या समाधान हुनुको साटो अझै बढ्न सक्ने सम्भावना देखिएको छ ।
आप्रवासीहरुलाई राख्नका लागि नयाँ सुरक्षा केन्द्र स्थापना गर्ने विषयमा युरोपेली संघका नेताहरुबीच सहमति भएको थियो । संघले शरण लिनका लागि आवेदन लिन केन्द्रहरू खोल्ने पनि जनाएको थियो । तर, फ्रान्सले यसमा असहमति जनाएको छ ।
सुरक्षा केन्द्रहरु खोल्नुको कुनै औचित्य नभएको उसले बताएको छ । किनकि, ऊ युरोपेली संघको यस्तो देश होइन, जहाँ आप्रवासी सबैभन्दा पहिले पुग्छन् । यसबारे इटलीले भनेको छ कि सुरक्षा केन्द्र युरोपेली संघभित्र कहीँ पनि बनाउन सकिन्छ । यता, युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कले सम्झौता लागू गर्न केही कठिनाइ आउने बताए ।
यसैगरी जर्मन चान्सलर एंगेला मर्केलले पछिल्लो सम्झौता अगाडि बढ्नका लागि महत्वपूर्ण भएपनि मतभेद हटाउनका लागि अझै केही गर्नुपर्नेमा जोड दिइन् । ब्रसेल्समा भएको सम्झौतापछि युरोपमा आप्रवासी समस्या न्युनिकरण हुने विश्वास गरिएपनि नेताहरुबीच देखिएको मतभेदले संकटको समाधान निकै टाढा रहेको संकेत गरेको छ ।
यो सम्झौता जर्मन चान्सलर एन्गेला मर्केलका लागि निकै महत्वपूर्ण मानिएको छ । किनकि, उनले आफ्नै देशमा यस मुद्दालाई लिएर राजनीतिक विरोधको सामना गर्नुपरेको छ ।




