काठमाडौं, १६ असार । नेपाल र भारतबीच रहेका सन् १९५० को सहित सबैखाले सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को अन्तिम बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
बिहीबार नै राजधानी ओर्लिएको भारतीय टोली सकारात्मक रूपमा प्रस्तुत भएपछि बैठक अन्तिम हुने विश्वास सहभागी सदस्यले व्यक्त गरेका छन् ।
भारतीय पक्षले केही विवादित विषयमा आफ्नो धारणा राख्ने क्रम अझै टुंगिएको भने छैन । सन् १९५० को मैत्रीसन्धि पुनरावलोकनको विषयलाई सम्बोधन गर्न पहल भइरहेको भए पनि केही बुँदा र नाममा अझै कुरा मिलेको छैन । शनिबार बस्ने बैठकमा यसले अन्तिम रूप पाउने सम्भावना रहेको सहभागीले बताए । भारतीय पक्षको रायपछि नेपाली पक्षले छुट्टै बैठक बसेर भारतले राखेका केही विषयका बुँदामा के गर्ने भन्दै छलफल गरेको उच्चस्रोतले बतायो ।
भारतले राखेका केही गम्भीर विषयलाई लिएर उनीहरूले सरकारसँग समेत समन्वय गरेको सहभागीको दाबी छ । आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसार, तस्करीलगायत नियन्त्रणका लागि दुवै पक्षलाई हित हुने गरी सीमा नियमनलगायत विषयमा भारतले दिएको जोडमा नेपालले समर्थन जनाएको छ । भारतीय टोलीका एक सदस्य पूर्वराजदूत जयन्त प्रसादका केही धारणाहरूले बैठक केही लम्बिएको थियो ।
भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्विकार्ने बताइएको भए पनि नागरिकलाई दिइने सुविधाको समानताले केही विषय लम्बिएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।