कति जीपीएले के विषय पढ्न पाइन्छ भन्नेमा विद्यार्थी अलमल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कति जीपीएले के विषय पढ्न पाइन्छ भन्नेमा विद्यार्थी अलमल

see

कविता कार्की
काठमाडौं, १५ असार
। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आएसँगै आफ्नो जीपीएअनुसार विद्यार्थीहरु विषय छनोटमा लागेका छन् । तर, आफूले पाएको ग्रेडले कुन–कुन विषय पढ्न पाइन्छ, कुन–कुन पाइँदैन भन्ने विषयमा भने कतिपय विद्यार्थी अलमलमा परेका छन् ।

एसईईमा कम्तीमा १ दशमलव ६ जीपीएसम्म ल्याएका विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउनेछन् । १ दशमलव ६ जीपीए भएपनि विद्यार्थीको नेपाली, अंग्रेजी र सामाजिकमा भने डी प्लस आएकै हुनुपर्छ । यस्तै २ जीपीए ल्याउनेले विज्ञान, १ दशमलव ६ ल्याउनेले मानविकी, कानुन, शिक्षा र व्यवस्थापन संकायमा अध्ययन गर्न पाउँछन् । तर, निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ ।

१ दशमलव ६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन समूहका विषय अध्ययन गर्न पाउँछन् । तर, मुख्य विषयमा डी ग्रेडमात्रै ल्याएकाले भने व्यवस्थापन संकायमा अध्ययन गर्न पाउँदैनन् ।

मानविकी संकाय अध्ययन गर्न पनि १ दशमलव ६ जीपीए अनिवार्य छ । एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याएका विद्यार्थीले तीन सय पूर्णाङ्कको विषय छनोट गर्न सक्छन् । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १ दशमलव ६ पर्याप्त हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । विज्ञान र गणितमा ई ल्याएको छ भने पनि अध्ययन गर्न पाइन्छ ।

शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याएको हुनुपर्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् । डान्स, म्युजिक, मूर्तिकला, पेन्टिङ, एप्लाइड आर्टस्, स्पोर्टस् पढ्न चाहने विद्यार्थीको अंग्रेजीमा डी प्लस ल्याएको हुनुपर्छ । तीबाहेक अन्य विषयमा जति ल्याए पनि हुन्छ ।

यस वर्ष एसईई परीक्षामा ४ लाख ५१ हजार बढी परीक्षार्थी सहभागी भएका थिए । यीमध्ये ० दशमलव ८५ देखि १ दशमलव ६० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २७२ छ । यसबाट स्पष्ट हुन्छ १ दशमलव ६५ जीपीए अर्थात ‘सी’ ग्रेड पनि नल्याउनेहरुले माथिल्लो कक्षा पढ्न पाउने छैनन् । उनीहरुले ग्रेड वृद्धिको मौका परीक्षा भने दिन पाउँछन् । साउन २३ गते तोकिएको मौका परीक्षामा ग्रेड वृद्धि गर्नेहरु मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);