राष्ट्रिय धान दिवस : हरेक वर्ष २४ अर्बभन्दा बढीको चामल आयात | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

राष्ट्रिय धान दिवस : हरेक वर्ष २४ अर्बभन्दा बढीको चामल आयात

national-paddy-day-in-nepal

फूलमाया आले
काठमाडौं, १५ असार
। कृषिलाई नै अर्थतन्त्रको मेरुदण्ड मानेर अघि बढेको सरकारले कृषि तथा मुख्य खाद्य बाली धानको उत्पादन बढाउन खासै चासो दिएको छैन । १५ वर्षअघि २०६१ सालबाट असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएपनि हरेक वर्ष २४ अर्बभन्दा बढीको चामल आयात भइरहेको छ । यसले कृषिप्रधान देशको प्रमुख बाली धान हो भनेर राज्यले लिएको नीतिमा नैं प्रश्न उठाएको छ ।

धान उत्पादनमा वृद्धि, राष्ट्रिय समृद्धि’ भन्दै यस वर्ष धान दिवस मनाइएको छ । राष्ट्रिय पर्वको रुपमा मनाइने धान दिवस तथा रोपाइ महोत्सवमा राजनीतिक दलदेखि स्थानीय तहका प्रमुखहरुसम्मले सहभागिता जनाएका छन् । मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने धानको उत्पादनलाई उपभोक्ताहरूको मागसँग जोड्न नसक्दा वार्षिक रुपमा धान र चामलको आयात दर बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब रुपैयाँ भन्दा बढीको चामल आयात भएको छ । जमिन घट्दै जानु र दिनप्रतिदिन बढ्दै गएको जनसंख्या र सोहीअनुसार बास्नादार र मसिनो चामलमा उपभोक्ता बढि आकर्षित हुँदै गएका कारण पछिल्ला दिनहरुमा धान तथा चामलको खपत बढ्दो क्रममा रहेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपालको कुल खेतीयोग्य जमिनमध्ये १५ लाख ६१ हजार हेक्टरमा धान उत्पादन हुँदै आएको छ । नेपालमा औसत ३ देखि ३ दशमलव ५ टन प्रतिहेक्टर धान उत्पादन हुने गरेको छ । धानलाई नेपालको प्रमुख खाद्यान्य बालीको रुपमा मानिन्छ । मन्त्रालयका अनुसार मुलुकको कुल ग्राह्स्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेकोमा धानको योगदान मात्रै २१ प्रतिशत रहेको छ । कृषि विज्ञहरु चैते धानको उत्पादनलाई पनि बढाउनसके चामल आयात घट्नसक्ने बताउँछन् । चैते धानको उत्पादन जम्मा ७ प्रतिशतमात्रै रहेको भन्दै सिंचाईको व्यवस्था गरेर यसलाई बढाउन सरकारीस्तरबाट पहल गर्नुपर्ने उनीहरुको सुझाव छ ।

सरकारले धानको उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना पनि संचालन गरेको छ । ब्लक, जोन र सुपरजोन घोषणा गर्दै सुरु गरिएको परियोजना अन्तर्गत २४ व्लक, पाँच जोन र एक सुपरजोन संचालनमा ल्याएपनि त्यसले आम नागरिकलाई प्रभाव पार्न सकेको छैन । वार्षिक रुपमा सरकारले मनाउने राष्ट्रिय धान दिवस ‘एकदिने’ औपचारिकतामा सिमित भइरहेको छ ।

दिवसको अवसर पारेर प्रधानमन्त्री देखि सबै राजनीतिक दलका प्रमुखका साथै कृषि मन्त्रालयले पनि धानमा आत्मनिर्भर बन्ने घोषणा गर्छन् । तर, सरकारी घोषणा भाषणमा सिमित हुँदा राष्ट्रिय अर्थतन्त्रसमेत धारासायी बनिरहेको छ । यसका लागि घोषण भन्दा काममा ध्यान दिन जरुरी छ ।