काठमाडौं, १४ असार । सरकारले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ प्रतिनिधिसभामा पेश गरेको छ । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ पेश गरेका हुन् ।
सरकारले अध्यादेशमार्फत् ल्याएको राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई प्रतिस्थापन गर्न यो विधेयक संसदमा पेश गरेको हो ।
विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकमा जनताद्धारा प्रत्यक्ष निर्वाचित हुने गरी सांसदहरुको निर्वाचन गर्ने प्रावधान राख्न माग गरे । उनले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुको धरौटि रकम घटाउने व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
संवैधानिक व्यवस्था अनुसार हरेक २ वर्षमा एक चौंथाई राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन हुने गर्दछ । सोही निर्वाचनलाई समेत ध्यानमा राखेर सो विधेयक प्रतिनिधिसभामा पेश गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तामाङले बताए । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।