तेजना पण्डीत
काठमाडौं, ११ असार । २०७४ पुस १६ गतेसम्म निर्माण गरिसक्नुपर्ने विष्णुपमति नदीमा निर्माणाधिन टेकु–डल्लु ६० मिटर लामो पुल हालसम्म पनि सम्पन्न हुन सकेको छैन । गुणस्तर कायम नगरेको भन्दै सरकारले काम रोक्न निर्देशन दिएपनि समयमा काम नगर्ने पप्पुकन्सट्रक्सनले सरकारको निर्देशनात्मक पत्रलाई बेवास्ता गर्दै काम जारी राखेको छ ।
२०७१ साल असार ९ गते संझौता गरी ०७३ असार ३० गते भित्र काम सक्नेगरी बिष्णुमति नदीको टेकु–डल्लु पुल बनाउन दीगो शहरी बिकास आयोजना र जेटआइइसि–पप्पु कन्सट्रक्सनबीच संझौता भएको थियो ।
२० करोड २३ लाख ७५ हजारमा ठेक्का सम्झौता गरिएको त्यो पुलको सम्झौता अनुसार काम नसकिएपछी पुनः दोस्रो सम्झौता गरी २०७४ पौस १६ गतेसम्म म्याद सारिएको थियो । तर, हालसम्म पुलनिर्माणको काम ६८ दशमलव ८० प्रतिशत मात्र भएको छ । त्यसरी ढिला हुँदासमेत पुलको गुणस्तर कायम गरिएको छैन ।
६० मिटर लामो पुलमा दायाँ भागमा १० मिटर जमिनमा रहेको छ भने वायाँ भाग २० मिटर जमिनमा छ । बिचको ३० मिटर भागमा सातवटा गडर बिम रहेका छन् । सम्झौता अनुसार प्रत्येक बिममा तीन ठाँउमा १५ वटाका दरले १५ दशमलव ७ एमएमको तार हाल्नुपर्ने हुन्छ ।
तर उक्त कम्पनीले १५ दशमलव २ एमएमको मात्र तार प्रयोग गरेको छ । सरकारी कन्सलटेन्टसँग कन्ट्रक्सनले मिक्स डिजाइन सहमति पनि लिएको छैन । त्यसैले पुलको भारवहन क्षमतामा कमी आउनेभन्दै सम्बन्धित निकायले गत जेठ १५ गते नैं काम रोक्न पत्र काटेको थियो ।
स्थानीयले भने निर्माण कम्पनीले सुरुवात देखिनै लापर्बाही गरेको बताएका छन् । शुरुदेखी नै निगरानी गर्नुपर्नेमा अहिले आएर मात्र काम रोक्नु सरकारको पनि कमजोरी भएको उनीहरुको भनाइ छ ।
दीगो सहरी बिकास आयोजनाले कमसल काम देखिएपछि पटक–पटक काम रोक्न पत्राचार गर्दापनि निर्माण कम्पनीले अटेरी गरिरहेको छ । सरकारले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ गर्ने अभियान पनि सार्वजनिक गरेको छ । तर, समयमा काम नगर्ने पर्सा क्षेत्र नम्बर–३ का सांसद हरिनारायण रौनीयारको स्वामित्वमा रहेको पप्पु कन्सट्रक्सनलाई कार्बाही नहुनुले सरकारको व्यवार पक्षपातपूर्ण हो की भन्ने आशंका पैदा भएको छ ।





