काठमाडौं, १० असार । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ ।
च्यांग्राको रौं पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ । पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दै आएका छन । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ । देशको आर्थिक विकासमा सघाउँदै आएको पश्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा रहेको छ ।
वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको छ । नेपालमा स्थानीय स्तरमा दुई अर्ब ५० करोडको पश्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ । विदेशी मुलुकमा दुई अर्ब बराबरको पश्मिना निर्यात हुने गरेको छ । अधिकांश पश्मिना उद्योग काठमाडौं उपत्यकामा रहेका छन ।