एजेन्सी, ९ असार । भारतको मुम्बई शहरले प्लास्टिकमा प्रतिबन्ध लगाएको छ ।फोहोर उत्पादनमा कमी ल्याउने उद्देश्यले मुम्बईले प्लास्टिकका थैली, एकपटकमात्रै प्रयोग गरिने प्लास्टिकको बट्टा र भान्सामा प्रयोग हुने प्लास्टिकका सामाग्रीमा प्रतिबन्ध लगाएको अधिकारीहरुले बताएका छन् ।
प्रतिबन्ध उल्लंघन गर्नेले २५ हजार भारतीय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । आजदेखि लागू गरिएको यो प्रतिबन्धले होम डेलिभरी सेवा संचालन गरेका होटलहरु बढी प्रभावित हुने बताइएको छ । भारतमा यसरी बृहत रूपमा प्लास्टिकमाथि प्रतिबन्ध लगाउने महाराष्ट्र पहिलो राज्य बनेको छ ।
यद्यपि अन्य राज्यहरूले यसअघि आंशिक रुपमा प्रतिबन्ध लगाएका थिए । सरकारको यस्तो कदमको वातावरणविद्हरूले स्वागत गरेका छन् ।