काठमाडौँ, ७ असार । सिर्जना र संस्कृतिको सम्मानका लागि जुन २१ (अर्थात्, आजको दिन) लाई विश्व संगीत दिवसका रूपमा मनाउने गरिएको छ ।
सन् १९८२ मा फ्रान्सका तत्कालीन संस्कृतिमन्त्री ज्याक लाङ र संगीतकर्मी मौरिस फ्लुरेटले घोषणा गरेको यो दिवसलाई फ्रेन्चहरू ‘फेत डे ला म्युजिक’ नाममा मनाउँछन् । हाल १२० देशका ८ सयभन्दा बढी सहरमा यो दिवस मनाउने गरिएको छ । अमेरिका, फ्रान्सलगायत केही देशमा यस दिन जतिसुकै चर्को स्वरमा पनि गीत गाउन र बजाउन पाइन्छ । कसैलाई डिस्टर्ब होला भनेर आत्तिनु पर्दैन ।
संगीतकर्मी र संगीतप्रेमीलाई विशेष छुट दिइएकाले सुरक्षा निकाय लचिलो बनिदिन्छ । धेरैले निस्शुल्क कन्सर्ट गर्छन् भने संगीतकर्मीका प्रतिलिपि अधिकार र अन्य सरोकारका विषयमा पनि यस दिन छलफल गर्ने चलन छ । संगीत दिवस अवसरमा पछिल्ला वर्ष हामीकहाँ पनि बाक्लै कार्यक्रम हुन थालेका छन् । विश्व संगीतमा पहिचान स्थापित गर्न नसके पनि नेपाली संगीतकर्मीले विश्वभर आफ्ना अडियन्स तयार पार्न सक्ने स्थिति आइपुगेको भन्दै संगीतकार कालिप्रसाद बास्कोटाले खुसी व्यक्त गरे । ‘हामी विश्व संगीतको हिस्सा बन्ने दिन चाँडै आउला,’ कालिप्रसादले भने, ‘तर, त्यसका लागि हामीले हाम्रो सांगीतिक प्रस्तुति सुधार्न आवश्यक छ ।
नेपालीपन झल्किने गीतले मात्र विदेशीको ध्यान खिच्छ ।’ सांस्कृतिक विविधतालाई संगीतमा उतार्न नसक्नु हाम्रो कमजोरी भएको उनले बताए । ‘विभिन्न विधाका गीत पालैपालो हिट भइरहेका छन्,’ उनले भने, ‘कुनै एउटा विधा रहिरहन सक्दैन अचेल ।’ युटयुब, साउन्ड क्लाउड, स्पोटीफाई, भिमियोजस्ता डिजिटल प्लेटफर्म हामीकहाँ व्यवस्थित भइसकेका छैनन् । युटयुब चर्चित भए पनि रोयल्टी र कपिराइटका विषयमा नेपालले एकमुस्ट अधिकार पाइसकेको छैन । तसर्थ, बिचौलिया मौलाउनेदेखि अनुमतिबेगर बनाइने कभर भिडियोमार्फत स्रष्टाको अधिकार खोस्ने काम भइरहेका छन् ।
तर, यस्ता विकृति बिस्तारै पाखा लाग्नेमा सर्जकहरू आशावादी छन् । संगीतमा भइरहेका अनेक पहल, प्रयास र प्रयोगले तिनलाई सकारात्मक बनाएको छ । नेपाली संगीतलाई विश्वस्तरमा पुर्याउन संगीतकर्मीको एकल प्रयास पर्याप्त नहुने गायिका अभया सुब्बाले बताइन् । ‘सरकारले सांस्कृतिक उत्थानमा ध्यान दिएको छैन,’ उनले भनिन्, ‘पुराना कुरा जोगाउनेदेखि नयाँ सिर्जना प्रवद्र्धनमा सरकार सजग हुनुपर्छ ।’ संगीतसम्बन्धी पूर्वाधार विकासमा सक्रियता देखाउनुका साथै अन्तर्राष्ट्रिय संगीत महोत्सव आयोजना गर्नुपर्ने र कल्चरल एक्सचेन्जका कार्यक्रम हुनुपर्नेमा उनले जोड दिइन् ।
अभयाका अनुसार अहिले जेजति प्रगति भइरहेको छ, सबै कलाकारको व्यक्तिगत प्रयासमा भइरहेको छ । उनले आस्था तामाङ मास्के, प्रबल गुरुङलगायतको उदाहरण दिँदै भनिन्, ‘उनीहरू आफ्नै कोसिसमा अघि बढे । म पनि वुमन इन कन्सर्टमार्फत महिला आर्टिस्टलाई एक्सपोज गर्न खोज्दै छु । स्टार्ट लोकल, गो ग्लोबल भन्ने मान्यतासाथ काम गरिरहेकी छु ।’ आपसी समन्वय आवश्यक रहेको भन्दै उनले साथ दिन तयार हुनेहरूको जमात पत्ता लगाउनु पनि हाम्रो कर्तव्य रहेको बताइन् ।
लोक गायक पशुपति शर्मालाई भने मौलिकतासहितका गीतको प्रचारप्रसारमा मिहिनेत गरे नेपाली संगीत विश्वस्तरमा पुग्न सक्छ भन्ने लाग्छ । उनले हामीकहाँ विश्वलाई आकर्षित र अचम्मित पार्नुका साथै मुग्ध बनाउन सक्ने लय, धुन र संगीत पद्धति रहेको बताए । उनले भने, ‘हाम्रो संस्कृति उत्कृष्ट छ । तर, हामीले चिन्न सकेका छैनौं ।
युटयुबमा झन्डै दुई लाख सब्क्राइबर रहेका र्यापर गिरीश खतिवडा अहिलेको समयलाई सुनौलो मान्छन् । यो बेला संगीत उत्पादन र वितरणमा रोकछेक गर्ने कुनै ‘गेटकिपर’ नरहेको भन्दै उनले हाम्रा लागि सही समय आएको बताए । ‘राणाशासन, पञ्चायतजस्ता अँध्यारा दिन हामीले धेरै झेल्यौं,’ उनले भने, ‘त्यसले गर्दा कला क्षेत्र विस्तार हुन पाएन । अब त केहीको छेकबार छैन । हाम्रो संगीत स्वतन्त्र छ ।’
हाम्रा मादल र मुर्चुङ्गा चाँडै संसारभर घन्किने भन्दै गिरीशले यसका लागि कहीँ न कहीँ कोही न कोही नेपालीले पहल गरिरहेको हुनुपर्ने बताए । ‘अहिले पनि कति ठूलठूला गायकगायिकाका गीतमा हाम्रा लोक बाजा बजेका छन्,’ उनले भने, ‘त्यसको पछाडि कसको हात थियो भन्ने नदेखिएको मात्र हो । तर, ती संगीतकर्मी बिस्तारै अगाडि आउनेछन्, यो पक्का हो ।’ कान्तिपुरबाट