सोल सेसन्स विश्व संगीत दिवस | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सोल सेसन्स विश्व संगीत दिवस

sangit diwas

ललितपुर, ८ असार । गितारलाई काखमा थपक्क सुताएर जब अंकित श्रेष्ठले ‘यादहरू’ गीत सुनाए दर्शक निकै मुग्ध बने । विभिन्न शैलीमा गितार बजाउने उनको कौशल कतिलाई नौलो लाग्यो ।

उनले आफ्नी हजुरआमाका लागि लेखेको ‘कथा’ र अमेरिका बसाइका क्रममा तयार पारेको ‘तर तिमी’ सँगै बेन होवार्डको ‘किप योर हेड अप’ बोलका गीत प्रस्तुत गरे । बिहीबार विश्व संगीत दिवसको अवसरमा पाटन म्युजियमको सुन्दरी चोकमा आयोजित ‘सोल सेसन्स’ कार्यक्रममा अंकितले आफ्नो कला प्रदर्शन गरेका थिए । उनीसँगै झन्डै आधा दर्जन अन्य संगीतकर्मीले पनि आआफ्ना खुबी देखाए । ठेट नेपाली लोक धुनदेखि पश्चिमा शास्त्रीय संगीत त्यहाँ समावेश थिए ।

गाउने, बजाउने मात्र नभएर लोक नृत्य पनि देखाइयो । साँझ ५ बजेबाट सुरु कार्यक्रममा सबैभन्दा पहिले ‘काठमाडौं न्याखी बाजा पुज’ समूहले नेवारी लोकबाजामा दुइटा धुन प्रस्तुत गर्‍यो । धिमे, न्याखी, झयाम्टा बजाउँदै पाँच सदस्यीय समूह स्टेजबाट बाहिरिएपछि ‘त्रय’ समूहले प्रस्तुति दिएको थियो ।

सितार, गिटार र तबलाको धुन फयुजन गराएर समूहले नौलो स्वाद चखायो । ‘नेपा बाँसुरी खल’ ले चाहिँ वर्षा ऋतुमा गाइने लोक धूनसँगै ‘छन्त जी नापला वे’ र ‘राजमती कुमती ’ गीतलाई बाँसुरी र बादलको धूनमा प्रस्तुत गर्‍यो । दस सदस्यसहितको ‘काठमाडौं स्ट्रिङ्ग इन्सेम्बल’ अर्केस्ट्रा समूहले शास्त्रीय, कन्टेम्पोररी र नेपाली गीत प्रस्तुत गरेको थियो । समूहलाई केही गीतमा संगम तामाङ र स्वस्तिका रेग्मीले भोकल्समा साथ दिए ।

युवा कलाकार युभस वैद्यको पियानो वादन कार्यक्रमको आकर्षण बन्यो । जुनेली साँझमा उनले आनन्द जगाउने धूनहरू सुनाए । लगत्तै चरिया, खिँ र धिमेमा एक हूल कलाकारले लोक नृत्यु प्रस्तुत गर्दा माहोल रंगीन बन्यो । कार्यक्रमको अन्त्यमा भने काठमाडौं विश्वविद्यालयको संगीत विभागका छात्राहरूको समूह ‘दिदीबहिनी’ ले इथ्निक–पप स्वाद पस्किएका थिए ।

वियर्ड इभेन्ट्सले गरेको सोल सेसन्सको यो दोस्रो शृंखला थियो । गत वर्ष पुल्चोकमा यस्तै शैलीको कार्यक्रम गरिएको आयोजकले जनायो । युवा संगीतकर्मीलाई प्रमोट गर्नु लक्ष्य भएको सोल सेसन्सको भनाइ छ । बिहीबारको समारोहमा विश्व संगीत दिवसबारे जानकारी दिइएको थियो । कलाकारले एकअर्कालाई शुभकामना आदनप्रदान गरे । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);