काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक संरचना जतिसक्दो चाँडो किनारा लगाउने निर्णय गरेको छ ।
नेकपाको स्थायी समितिको पहिलो बैठकले पार्टी एकतापछि नेता तथा कार्यकर्तामा उल्लेख्य उत्साह देखिएको ठहरसहित सांगठनिक संरचनालाई चाँडो टुंगो लगाउने निर्णय गरेको हो । नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भइ नेकपा गठन भएपनि प्रदेश, जिल्ला र त्योभन्दा तलका तहमा तथा भातृ संगठनमा एकता भएको छैन ।
बैठकले कार्यकर्ताहरुलाई थप उत्साहित तुल्याउने गरी सांगठनिक संरचनाको काम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टीको विधानको मस्यौदामाथि सुझाव दिन सदस्यहरुलाई १० दिनको समय दिएको छ । सदस्यहरुको सुझावका आधारमा सचिवालयले प्रतिवेदन तयार पार्ने र अर्को बैठकले विधानको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र कामबारे पनि छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ गतेदेखि गर्न लागेको उत्तरी छिमेकी चीनको भ्रमणबारे जानकारी गराइएको थियो ।