काठमाडौं महानगरको नीति तथा कार्यक्रम नगर सभामा पेश | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

काठमाडौं महानगरको नीति तथा कार्यक्रम नगर सभामा पेश

kathamandu mahanagar palika

काठमाडौं, २ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धुँवाधुलो नियन्त्रण गरेर ‘नो मास्क सिटी’का रुपमा काठमाडौँलाई विकास गर्ने, पार्किङको समस्या हटाउन स्मार्ट पार्किङ सिस्टम जोड्ने, भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई–ट्वाइलेट निर्माण गर्ने योजना रहेको बताए ।

उनले आधुनिक सुविधायुक्त शहरी यातायातका लागि मनोरेल, मेट्रो रेल, केबलकारको प्रयोगको सम्भाब्यताको अध्ययन गरिने लगायतका विषय नीति तथा कार्यक्रममा समेटेका छन् । त्यसैगरी, भवन निर्माणसम्बन्धी नीतिलाई समयअनुसार परिवर्तन गर्ने, धरहरा, रानीपोखरी, काष्ठमण्डपको द्रुत गतिमा पुनर्निर्माण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सबै करदातालाई सहज रुपमा कर तिर्ने वातावरण बनाउन स्मार्ट ट्याक्स पेयर कार्ड सिस्टमको विकास गरिने र २०७५/७६ लाई महानगर कर वर्षको रुपमा मनाइने योजना पनि मेयर शाक्यले सुनाए ।

महानगरका विभिन्न ठाउँमा सिसि क्यामेराको जडान गरी अपराध नियन्त्रण गर्ने, महानगरका सबै कार्यालयहरुमा सिसिटिभि जडान गर्ने, झिलिमिलि काठमाडौँ अन्र्तगत सडकमा आवश्यकता अनुसार बत्तीहरु थप्ने, महानगरका मुख्य सडक चोकहरुमा ट्राफिक बत्ती जडान गर्ने जस्ता विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै जेष्ठ नागरिक, अपाङगता भएका, पाँचबर्ष मुनिका बालबालिकालाई साझा बसमा निशुल्क र महानगरबाट सञ्चालन हुने अन्य यातायातमा दिइएको निशुल्क सेवा यथावत हुने, पिछडिएका तथा निम्न आय भएका नागरिकका लागि सामुदायिक आवास कार्यक्रम निर्माण गर्न विस्तृत योजना तयार पार्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।