कृषिमन्त्री खनालको नेतृत्वमा काठमाडौंका ३० वटा डेरी उद्योगको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषिमन्त्री खनालको नेतृत्वमा काठमाडौंका ३० वटा डेरी उद्योगको अनुगमन

chakra pani khanal

काठमाडौं, २८ जेठ । सरकारले गुणस्तरमा लापर्बाही गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने डेरी उद्योगहरुमाथि कार्बाही सुरु गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आफू मातहतकै दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुमाथि अनुगमन गरेर कार्बाहीको प्रक्रिया अगाडि बढाएको हो ।

गत साता कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनमा निस्किएका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल सोमबार काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा पुगे । डेरी उद्योगहरुले गुणस्तरहीन दुध उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको गुनासोका कारण मन्त्री खनाल डेरी उद्योगहरुको अनुगमनका लागि बालाजु औद्योगिक क्षेत्रमा पुगेका हुन् ।

तीन जना प्राविधिकसहित औद्योगिक क्षेत्र पुगेका मन्त्रीको टोली सुरुमा आधुनिक डेरी उद्योगमा छिर्यो । उद्योगको गोदाममा गुणस्तरहीन पाउडर दुध फेला पर्यो । मन्त्री खनालले उद्योगले मापदण्ड पूरा नगरेको र गुणस्तरहीन पाउडर दूध फेला परेपछि शिलबन्दी गर्न निर्देशन दिए । प्राविधिकहरुले मन्त्रीको निर्देशनपछि उद्योगमा शिलबन्दी गरे । अनुगमन टोली त्यसपछि सामुदायिक कृषक डेरीमा पुग्यो ।

शुलभ नामको दुध उत्पादन गर्दै आएको यो डेरी पनि मापदण्ड अनुसारको पाइएन । अनुगमन टोलीले गुणस्तर परीक्षणका लागि डेरीबाट दुधका प्याकेटको नमुना संकलन गर्यो । यसपछि अनुगमन टोली कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको दुग्ध उत्पादन तथा वितरण केन्द्रमा पुग्यो । मन्त्री अनुगमनमा आएको जानकारी कर्मचारीले पहिले नै पाइसकेका थिए । यसैले कर्मचारीले उत्पादनस्थल सफा पारेका थिए ।

यद्यपि, संस्थानको दुध उत्पादन केन्द्रमा निजी डेरी उद्योगमा भन्दा ठूलो परिमाणमा पाउडर दुध भेटियो । उपभोग्य मिति उल्लेख नगरिएका २ लाख १० हजार केजी पाउडर दुध भेटिएपछि मन्त्रीले गुणस्तर जाँचका लागि निर्देशन दिए । साथै मन्त्री खनालले गुणस्तरमा लापर्बाही गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने सबैलाई कडा कार्बाही गर्ने उद्घोष गरे ।

अनुगमनका क्रममा कुनै डेरी उद्योगपनि विना कैफियतका भेटिएनन् । मन्त्रालयको टोलीले सोमबार ३० वटा डेरी उद्योगमा अनुगमन गरेकामा सबैमा कैफियत भेटिएको छ । कैफियत भेटिएकामध्ये दुईवटा उद्योगमा सिल लगाइएको छ भने अन्यको नमुना संकलन गरिएको छ । गत साता कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरी विचौलियाहरुलाई बजारबाट हटाउने निर्णय गरेका मन्त्री खनालले गुणस्तरमा लापर्बाही गर्ने डेरी उद्योगमाथि गर्ने कार्बाही सबैको चासोको विषय बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);