३३ ब्राण्डका दुधमा हानिकारक कोलिफर्म | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

३३ ब्राण्डका दुधमा हानिकारक कोलिफर्म

khadya bibhag

प्रतिक्षा शर्मा
काठमाडौं, ११ असार
। काठमाडौं उपत्यकामा प्याकेटको प्रशोधित दुधमा कोलिफर्म नामक जीवाणु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा २३ वटा डेरी उद्योगको ३३ वटा ब्राण्डका दुधमा कोलिफर्म फेला परेको हो । कोलिफर्म मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

दुई साताअघि कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले काठमाडौंको बालाजु क्षेत्रका केही डेरी उद्योगको अनुगमन गरेका थिए । मन्त्रीले अनुगमन गरेको दिन विहानै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २३ वटा डेरी उद्योगका ४२ वटा ब्राण्डका दुधको नमुना संकलन गरेको थियो । संकलन गरिएका ४२ नमुनामध्ये ३३ नमुनामा कोलिफर्म नामक जीवाणु भेटिएको छ ।

विभागले गरेको परीक्षणमा सरकारी स्वामित्वकै दुग्ध विकास संस्थानको दुधमा समेत कोलिफर्म भेटिएको छ । बालाजुस्थित आधुनिक डेरीको आधुनिक, गल्फु विनायक डेरीको अलिसाज, आकृति दुग्ध तथा कृषिको अनमोल, जयश्री डेरीको अपर्ण, भक्तपुर डेरीको भक्तपुर, चौधरी डेलिसियस मिल्क एन्ड वेभरेजको एचडीआई तथा हिमालय डेरीको डेली यूएचटी ब्राण्डको दुधमा कोलिफर्म जीवाणु पाइएको हो ।

यस्तै जगदम्बा डेरीको एभ्रीडे, एचडी मिल्क एन्ड वेभरेजको गोधूलि, कालिका डेरीको कालिका, नवप्रभात डेरीको नवप्रभात, नेपाल डेरीको एन्डिज, कन्ट्री फुडको नोभा, राजधानी डेरीको आरडीसी, सुजल डेरीको सफल र संजीवनी उद्योगको संजीवनी दुधमा पनि कोलिफर्म भेटिएको छ । शिवम् डेरीको शिवम, सीताराम डेरीको कृष्ण, हिमालय डेरीको टुडे, तुलसा डेरीको तुलसा र संयुक्त डेरीको एस दुधमा पनि कोलिफर्म भेटिएको विभागले जनाएको छ । कोलिफर्म भएको दुध खानाले पखाला लाग्ने, टाउको दुख्ने लगायतका समस्या देखापर्छ ।

कोलिफर्मयुक्त दुधको बिक्रिवितरण गर्न कानूनले बन्देज गरेको छ । कानूनले बन्देज गरेपनि दुधमा कोलिफर्म फेला परेको यो पहिलोपटक होइन । यसअघि पटक पटक गरिएका परीक्षणमा पनि स्वास्थ्यका लागि हानिकारक मानिने कोलिफर्म फेला परेको थियो । तर, विभागले कार्बाहीको डण्डा नबर्साउँदा उपभोक्तामाथि उद्योगीको मनोमानी मौलाएको हो । यसर्थ मन्त्री र विभागले प्रचारमुखी हुनुभन्दा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी कानूनको कार्यान्वयन गराउनतिर ध्यान दिन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);