जनताले जोडेको मन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मञ्जु कार्की

काठमाण्डौँ, २ भदौ । दुई बर्षअघि राजधानी सहित पहाडी क्षेत्रमा भूकम्प जाँदा मधेशबाट ठूलो राहत आयो । अहिले मधेश बाढी र डुवानको पीडामा छ । पीडामा डुबेको तराईलाई पहाड अहिले दुई वर्ष पहिलेको पैंचो तिर्ने प्रयासमा जुटेको छ ।

 

हरेक बर्ष झैं यस बर्ष पनि तराइवासी बाढी र डुवानले पीडित बनेका छन् । तराईवासी डुबानमा परेसँगै पहाडवासीहरु राहतका लागि तराई झर्ने क्रम सुरु भएको छ । यसअघि भुकम्प जाँदा तराईवासी राहत बोकेर पहाड चढेका थिए । २७ महिना पहिले गएको भुकम्पले काठमाडौं उपत्यकाका तीनसहित आसपासका १४ जिल्लामा ठुलो क्षती पुग्यो । भुकम्पले पुर्याएको क्षतिका कारण पहाडीबासी पीडामा डुबे । घर र आफन्तजन गुमाएको पीडा व्यहोरेका पहाडवासीलाई सान्त्वना दिन तराईवासी आफूले सकेको दाल चामल र निर्माण सामाग्री लिएर पहाड उक्लिए । २७ महिना पहिले सहयोग गरेका तराईवासी अहिले आफैं सहयोग लिनुपर्ने अवस्थामा पुगेका छन् ।

 

बाढीले घर, चौपाया र खेती डुबाएपछि तराईवासी सहयोग लिनुपर्ने अवस्थामा पुगेका हुन् । तराईवासीको पीडामा मलम लगाउन पहाडवासी तराई झर्न थालेका छन् । तराईवासीको राहतका लागि पहाडवासी आफूले सकेको सामाग्री र सहयोग रकमसहित तराई झर्न थालेका हुन् । सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेपनि जनस्तरमा दालचाम लगायतका खाद्यान्न र कपडा वितरणका काम सुरु भएका छन् । तराई क्षेत्र डुवानमा पर्दा पहाडलाई पनि दुखेको छ । नदुखोस पनि किन ? हिमाल, पहाड र तराई मिलेर नेपाल बनेको छ । एउटा भाग पीडामा पर्दा अर्को भागले सहयोग गर्नु सराहनीय हो ।

 

विडम्बना भन्नुपर्छ जनताको तहमा देखिने यो सद्भाव राजनीतिक तहमा देखिंदैन । दलहरुले लोकतन्त्र वहालीपछि समानुपातिक, समावेशी र संघीयताको नाममा पहाड र मधेशका जनताको बीचमा तिक्तता ल्याउने प्रयास गरे । दलहरुले सत्तामा पुग्नका लागि गलत कुरालाई प्रोत्साहित गरेको परिणाम मुलुकमा जातीय, क्षेत्रिय र सम्प्रदायिकताको नारा लाग्यो । दलको नेतृत्वले मिलेर बसेको नेपाली समाजलाई विभाजित बनाउने प्रयास गर्यो । भूगोलका कारण प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका जनताले कुनैपनि दिन क्षति व्यहोर्नुपर्ने र आपसमा सहयोग आदानप्रदान गर्नुपर्नेतर्फ राजनीतिक नेतृत्वले ध्यान दिएन । मधेशको नाममा राजनीति गर्दै आएकाहरुले न त डुबानको जोखिम न्युनिकरणका लागि ठोस काम गरे, न त अहिले तराईवासी घर गुमाएर खुला आकाशमुनी वस्न बाध्य हुँदा उनीहरुको राहतका लागि प्रभावकारी कदम चालेका छन् ।

 

अनेक नारा अगाडि सारेर आफूलाई सत्तामा पु-याउन उद्यत दल र तिनका नेता जनताको पीडामा मलम लगाउन चुकिरहेका छन् । तराईका जनता अहिले राजनीतिक नारा होइन सहयोगी हातको पर्खाइमा छन्, खाद्यान्न र बासको आशामा छन् । यसर्थ जनस्तरमा देखिएको सहयोगबाट पाठ सिकेर राजनीतिक दल र तिनको ठूलो पंक्ति राजनीतिक स्वार्थलाई थाँति राखी बाढीको पीडामा छटपटाएका जनताको उद्दार र राहतमा सक्रिय हुनु आजको आवश्यकता हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);