काठ तस्करीमा सशस्त्रको गाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठ तस्करीमा सशस्त्रको गाडी

katha taskari

धनकुटा, २३ जेठ । सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौं मूल्यका सखुवाको काठ तस्करी गरेको खुलेको छ ।अरुण गुल्म खाँदबारी, संखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा१झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मूलघाट पुर्‍याइएको थियो ।

राति करिब ८ बजे मूलघाटस्थित तमोर पुलनजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रूपमा करिब सय क्युबिक फिट सखुवाको चिरान गरेको काठ फेला परेको थियो । चेकपोस्टभन्दा करिब ५ सय मिटर दूरीमा रहेको नेपाल प्रहरीको चेक पोस्टमा रोक्न खोज्दा जबरजस्ती उक्त ट्रक अघि बढाएपछि नियन्त्रणमा लिइएको थियो । संखुवासभादेखि मूलघाटसम्म पुग्दा कैयौं स्थानमा रहेका प्रहरी चेक पोस्ट पार गर्दै काठ ल्याइएको थियो ।

बरामद गरिएको काठको बजार मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ । काठसहित आफ्नै विभागको सवारीसाधन नियन्त्रणमा लिएको घटनाबारे सशस्त्रको पकलीस्थित वाहिनीलाई जानकारी गराएको सशस्त्र प्रहरी मूलघाटका इन्चार्ज इन्स्पेक्टर दुर्गा भट्टले बताए । ‘माथिल्लो निकायलाई जानकारी गराउनु मेरो कर्तव्य हो,’ उनले भने, ‘जे अनुसन्धान गर्छ, माथिल्लो निकायले नै गर्नेछ ।’ काठ गलत तरिकाले लगिएकाले आफूले रोकेको उनले जनाए । तर उक्त काठ कहाँ लगिएको भन्नेबारे स्पष्ट हुन नसकेको उनको भनाइ छ ।

यसैबीच मूलघाट सशस्त्रले नियन्त्रण लिएको घटनाबारे मध्यराति नै पकलीस्थित सशस्त्रको बाहिनीबाट डीएसपी डम्बर विष्टको नेतृत्वको टोली छानबिनका लागि पुगेको थियो । घटनाबारे छानबिन समितिसमेत गठन गरिएको स्रोतको भनाइ छ । घटनामा संलग्न रहेको आशंकामा सशस्त्र प्रहरी अरुण गुल्म संखुवासभाका इन्चार्ज डीएसपी रामप्रसाद भण्डारीलाई मंगलबार वाहिनीमा झिकाइएको छ । संखुवासभाबाट अवैध रूपमा सरकारी गाडी प्रयोग गरी सुनसरीतर्फ काठ लगिएको स्रोतको दाबी छ । ‘कुन उद्देश्यले काठ लगिएको हो भन्ने छानबिन समितिको अनुसन्धानले चाँडै पुष्टि गर्नेछ,’ स्रोतले भन्यो, ‘छानबिनबाट दोषीमाथि कारबाही हुनेछ ।’

बरामद गरिएका काठ हाल मूलघाटस्थित सशस्त्र प्रहरीको कार्यालयमा राखिएको छ । ट्रक भने पकलीस्थित वाहिनीमा लगिएको छ । तर, बरामद गरिएको काठबारे जिल्ला वन कार्यालयलाई हालसम्म जानकारी गराइएको छैन । घटनाबारे आफूलाई कुनै जानकारी नभएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्ती बताउँछन् ।

कुनै पनि काठ तथा वन्यजन्तु वा वनस्पति नियन्त्रण तथा बरामद हुँदा वन कार्यालयलाई जानकारी दिनुपर्ने उनको तर्क छ । यस्तै सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र खडकाले संखुवासभाबाट काठ अवैध रूपमा ल्याइएकाले वन कार्यालयमार्फत छानबिन हुनुपर्ने बताए । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);