पूर्वाधार निर्माणमा लापरबाही: पेस्की लिँदै, भाग्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूर्वाधार निर्माणमा लापरबाही: पेस्की लिँदै, भाग्दै

purbadharnirman

जाजरकोट, २३ जेठ । जिल्लामा ठेकेदारले जिम्मा लिएका पूर्वाधार निर्माणका योजना बर्षौं बित्दा पनि सम्पन्न हुन सकेका छैनन् । ठेकेदार तथा सम्बन्धित निकायको चरम लापरबाहीले दर्जनजति योजना अलपत्र छन् ।पूर्वाधार निर्माण नसकिँदा स्थानीय बासिन्दा सहजै सरकारी सेवा पाउन वञ्चित भएका छन् ।

अलपत्र योजनामा सडक पुल, स्वास्थ्य संस्थाका भवन, सडक लगायत छन् । सबै गरी १५ करोड लागतका स्वास्थ्य संस्था भवन, ६ करोडका पुल र १५ करोडका सडक निर्माण योजना अघि बढ्न सकेका छैनन् । ६ वटा स्वास्थ्य संस्थाका भवन सात वर्ष बित्दा पनि बनेनन् । ती भवनको आधा काम पनि सकिएको छैन । छिन्चु–जाजरकोट सडकको पासागाड खोला पुल ४ वर्ष र छेडा–जुम्ला सडकको मोर्क खोला पुलको काम ६ वर्षदेखि अलपत्र छ । त्यस्तै खलंंगा–पाँचकाटिया–ब्युलीढुंगा–जुम्ला, छेडा–चाँदे–जुम्ला र पाँचकाटिया–बारेकोट–जुम्ला सडक निर्माणको काम १० वर्षदेखि ठप्प छ ।
समयमा काम पूरा नगर्ने ठेकेदारलाई सम्बन्धित निकायबाट कारबाहीको साटो उल्टै पेस्की भुक्तानी र म्याद थप गरिँदै आएको छ । सबैजसो ठेकेदार पेस्की लिएपछि काम छाडेर बेपत्ता भएका छन् । ठेक्का सम्झौताको १ देखि ३ वर्षसम्म सक्नुपर्ने योजनामा वर्षौं बित्दा ३० देखि ५० प्रतिशतजति काम पनि हुन सकेको छैन ।

भवन निर्माण पूरा नहुँदा यहाँका आधा दर्जन स्वास्थ्य संस्थामा व्यवस्थित उपचारकक्षसमेत छैन । कतिपय स्वास्थ्य संस्था भाडाको घरमा चलाइँदै आएका छन् । जिल्ला अस्पतालको सुरक्षित मातृत्व भवन, स्वास्थ्य चौकी दल्ली, स्वास्थ्य चौकी मजकोट बडकुले, प्रसूति भवन सीमा, स्वास्थ्य चौकी घरंगा र स्वास्थ्य चौकी दशेराका निर्माणाधीन भवन अलपत्र अवस्थामा छन् । तीमध्ये कतिको ३० प्रतिशत, कतिको ५० प्रतिशतसम्म काम भएको छ । सम्झौताको एक वर्षभित्र बनाइसक्नुपर्ने सर्त राखिएका ती भवन ठेकेदारले ७ वर्ष बित्दा पनि पूरा गरेनन् ।

निर्माण व्यवसायीहरू ठेक्का सम्झौता गर्ने, पेस्की लिने र काम नगरी भाग्ने समस्या रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय, सुर्खेतका इन्जिनियर झन्क थापाले बताए । ‘एकदेखि तीन करोडसम्म बजेट भएका भवन निर्माणमा ढिलाइ भएको छ,’ उनले भने । फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालि कोटेश्वरले स्वास्थ्य चौकी बडकुले, जिल्ला अस्पतालअन्तर्गतको सुरक्षित मातृत्व भवन र जीएम कन्स्ट्रक्सन प्रालि गोंगबु काठमाडौंले दल्ली स्वास्थ्य चौकीको भवन निर्माण अलपत्र पारेको थापाको भनाइ छ ।

सम्बन्धित व्यावसायीलाई पटक–पटक ताकेता गर्दा पनि बेवास्ता भएकाले डिभिजन कार्यालयबाट कारबाही प्रक्रिया अघि बढाइन लागेको उनले जानकारी दिए । ‘निर्माण कम्पनीका प्रतिनिधिहरू ठेक्का पार्न चर्को प्रतिस्पर्धा गर्छन्,’ उनले भने, ‘तर तोकेको समयमा कार्य सम्पन्न गर्न बेवास्ता गर्छन् ।’ कम्पनीको प्रोप्राइटरले नभई प्रतिनिधिले कार्य गर्ने जिम्मा लिँदा झन् समस्या भएको उनले बताए । ‘कति योजनाका ठेक्का स्वीकृत भएपछि प्रतिनिधि पेस्की लिएर बेपत्ता भएका छन्,’ उनले भने । थापाका अनुसार न्यून दररेटमा टेन्डर स्वीकृत गराउनेले निर्धारित डिजाइनअनुसार काम गर्न नसकी बीचमै भाग्ने गरेका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्म भवन निर्माण सम्पन्न नगर्ने व्यावसायीलाई कालोसूचीमा राख्ने, निर्माणबापतको बैंक ग्यारेन्टी फिर्ता माग्ने र ठेक्का सम्झौता तोड्ने तयारी गरिएको उनले जानकारी दिए ।

‘ठेक्कापट्टासम्बन्धी कानुन नै कमजोर हुँदा अप्ठ्यारो परेको छ,’ उनले भने । व्यावसायीले तोकेको अवधिमा स्वास्थ्य संस्थाका भवन नबनाउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । भवन नहुँदा जीर्ण भवन तथा भाडामा कार्यालय सञ्चालन गर्न बाध्य भएको उनले जनाए । ‘भवन अभावमा अत्याधुनिक प्रसूति कक्षको व्यवस्थापन गरेर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको लक्ष्य अधुरै रह्यो,’ उनले भने, ‘अधुरा भवन जति अधिकांश बर्थिङ सेन्टरका छन् । सुरक्षित सुत्केरी सेवा दिन कठिनाइ भएको छ ।’ नेपालीले भवन निर्माणका लागि बारम्बार ताकेता गर्दा पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

१२ कम्पनीलाई कारबाही तयारी
तेह्रथुम– प्रशासनले निर्धारित समयमा काम पूरा नगर्ने ठेकेदारको नाम संकलन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रशासनले ठेकेदारको सूची तयार पारी मन्त्रालय पठाएको हो । चालु अवस्थाका र सम्झौता अवधि नाघिसक्दा पनि काम पूरा नगर्ने ४६ कम्पनी र त्यत्तिकै संख्याका ठेकेदारको नाम मन्त्रालय पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । उनका अनुसार सम्झौता अवधि नाघ्दा पनि काम अलपत्र छाड्ने निर्माण कम्पनी १२ छन् ।

यीमध्ये ८ कम्पनीले विभिन्न सडक निर्माण र स्तरोन्नतिको जिम्मा लिएका थिए । अन्यले स्वास्थ्य चौकी भवन निर्माण, नयाँ सहर विकास आयोजना वसन्तपुरका विभिन्न काम जिम्मा लिएका थिए । यी कुनै कम्पनीले समयमा काम पूरा नगरेको सहायक प्रजिअ उमेश घिमिरेले बताए । उनका अनुसार पहिलो चरणमा ताकेता गर्ने र बेवास्ता गरे नियन्त्रणमा लिई कारबाही गर्ने तयारी छ । बाँकी निर्माण कम्पनीको पनि सूची लिने काम भइरहेको प्रशासनले जनाएको छ । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);