रौतहट, २ भदौ । चार दिनको अविरल वर्षाले सदरमुकाम गौरको तल्लो भाग शनिबारसम्म जलमग्न थियो। त्यही दिन अपराह्न बकैयाखोलाको बाढीले चन्द्रनिगाहपुर-गौर सडक खण्डको सखुअवा चोक भत्कायो। २२ किलोमिटर दूरीको मुख्य बजार डुबानमा पर्यो। स्थानीय प्रशासनले बाढीको खतरा आँकलन गर्दै चेतावनी दिएकाले स्थानीय जाग्राम थिए।
‘१० फिटसम्म पानी जम्मा भएको थियो,’ गौर भन्सार रोडका थोक सामान बिक्रेता जितेन्द्र साहले सम्झिए, ‘चारैतर्फ पानी नै पानी थियो।’ पानीबाट जोगिन नगरवासी छतमा चढे। पक्की घर नहुनेले धर्मशाला र छिमेकीको घरमा आश्रय लिए। गौरबाट करिब एक किलोमिटर टाढा सीमा नजिक भारतले ठूलो र बलियो बाँध निर्माण गरेकाले पानीको बहाव रोकियो । ठूलो बाढी भएकाले स्थानीय र नेपाल प्रहरीले बाँधको साइफन (पानी निकासका लागि निर्माण गरिएको फलामे संरचना) खोल्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई आग्रह गरे।
दसगजा नजिक भारतले निर्माण गरेको साइफन नखोलिदिँदा पानीले निकास पाएन । त्यसैले अत्यधिक क्षति भयो। साइफन खोल्नुको सट्टा एसएसबीले नेपालीलाई धपाए। अनि साइफनको सुरक्षार्थ खटिए। आइतबार साँझ बाढी थेग्न नसकेपछि सदरमुकामको पूर्व–दक्षिण किनारमा रहेको भारतको मसाहास्थित बाँध दुई ठाउँमा भत्किएपछि गौरको पानी बैरगनिया तर्फ बग्यो। बाँध भत्किएको ठाउँमा एक भारतीय नागरिकको तीन तले पक्की घर पनि बग्यो।
‘सुरुमै साइफन खोलेर नियन्त्रित तरिकाले थोरै-थोरै पानी निकास गरिदिएको भए यति ठूलो क्षति हुँदैनथ्यो,’ उद्योग वाणिज्य संघका संस्थापक सदस्य देवप्रयाग गुप्ताले भने, ‘उनीहरूले सहयोग गर्नुपथ्र्यो। रोटी–बेटीको सम्बन्ध नागरिक स्तरमै कायम रह्यो, प्रशासनिक स्तरमा लागू भएको देखिएन।’
उनका अनुसार २०५० को वाग्मतीको बाढीपछि भारतले सीमा क्षेत्रमा १२ फिट अग्लो र २५ फिट चौडा बाँध निर्माण गरेको थियो। गौर बजारभन्दा मुस्किलले २ किलोमिटर दक्षिणमा छिमेकी बैरगनिया बजार छ। बाँध भत्काएर प्रवेश गरेको बाढीले बैरगनिया पनि दुई दिन जलमग्न भएको थियो । भारतीय सुरक्षाकर्मीले समयमै साइफन नखोलेको भन्दै गौरवासीले आक्रोश व्यक्त गरे । प्रत्येक वर्षात्मा एसएसबीले साइफन बन्द गर्छ। साइफन निर्माण भएकै पानी निकासका लागि हो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।