काठमाडौं, २२ जेठ । एसिया–प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन तथा तेस्रो एसिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक काठमाडौंमा सुरु भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा भएको सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक बाल शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई पनि शिक्षाको मूलधारमा ल्याउन सरकारी पहल सुरु भइसकेको भन्दै उनले नेपाल संघीयतामा गएसँगै लक्ष्य प्राप्तिका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्य उन्मुख रहेको दाबी गरे ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा ८४ प्रतिशत बालबालिकाले प्रारम्भिक बालविकास शिक्षाको अवधारणा अनुरुप सेवा पाएको दाबी गरे । एशिया प्रशान्त क्षेत्रका ६९ प्रतिशत बालबालिकाले मात्रै सो सेवा पाएका छन् । मन्त्री पोखरेलले शिक्षाको गुणस्तरमा विकास गर्न संसारमा भएको राम्रो मोडेल नेपालको शिक्षामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तीन दिनसम्म चल्ने सम्मेलनमा प्रारम्भिक बालबिकासमा भइरहेको नयाँ अभ्यास, अनुसन्धान तथा प्रयोगबारे ज्ञान तथा अनुभव आदन–प्रदान एवं विद्यमान नीति, शिक्षाको समता र गुणस्तर सुधार सम्बन्धि विषयमा छलफल हुनेछ ।
एसिया प्रशान्त क्षेत्रका ४० देशका नीति निर्माता, उच्च पदाधिकारी, विकास नियोगका पदाधिकारी, अनुसन्धानकर्ताका साथै प्रारम्भिक बालविकास, हेरचाह र शिक्षाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधीहरुसहित ७ सय प्रतिनिधीको सम्मेलनमा सहभागीता रहेको छ ।