काठमाडौं, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको प्रस्तावित शिखर वार्तामा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन पनि सहभागी हुने भएका छन् ।
दक्षिण कोरियाली अधिकारीहरुले ट्रम्प–किम वार्तामा आफ्ना राष्ट्रपति मुन सहभागी हुन सक्ने बताएका छन् । मुनको सहभागीतालाई लिएर प्रारम्भिक चरणमा छलफल भइरहेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ । छलफलमा हुने प्रगतिका आधारमा मुनको सहभागीताबारे निर्णय लिइने दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।
ट्रम्प–किम वार्ता अगाडि ट्रम्पसँग जापानी प्रधानमन्त्री सिन्जो आबेले भेटवार्ता गर्ने भएका छन् । ट्रम्प र आबेबीच भेटवार्ताको सहमति भइसकेको जापानी समाचार संस्था क्योदोले जनाएको छ । ट्रम्प र किमबीचको वार्ता भने आगामी जुन १२ मा सिंगापुरमा हुने बताइएको छ ।