किभ, १३ जेठ । रियल मड्रिडले गएराति युक्रेनको किभ ओलम्पिक रंगशालामा भएको खेलमा इङ्लिस क्लब लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेर लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । रियल मड्रिडले पछिल्लो पाँच वर्षमा चौंथो पटक उपाधि जितेको हो । उपाधि जिताउने क्रममा गारेथ बेलले उत्कृष्ट प्रदर्शन गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा करिम बेन्जिमाको गोलमा रियल मड्रिडले अग्रता लिएको थियो । बेन्जिमाले लिभरपुलका गोलरक्षक लोरिसको गल्तीको फाइदा उठाउँदै गोल गरेका हुन् । तर त्यसको चार मिनेटपछि सादिओ मानेले बराबरी गोल फर्काए । दोस्रो हाफमा इस्कोको सट्टामा मैदान प्रवेश गरेका गारेथ बेलले ६४ औं मिनेटमा २—१ को अग्रता दिलाए । बेलले ८३ औं मिनेटको अर्को उत्कृष्ट गोल गरेर रियल मड्रिडलाई उपाधि दिलाए ।
रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको यो १३ औं पटक हो । लिभरपुलको पराजयमा मोहमद सलाहले मैदान छोड्नु पनि कारण बन्यो । काँधको चोटका कारण सलाहले ३० औं मिनेटमै मैदान छोडेका थिए । मैदान छोड्नुपर्दा सलाह रोएका थिए । सलाहले मैदान छोड्नु पूर्व लिभरपुलले रियल मड्रिडलाई दबाबमा राखेको थियो ।