दुई ध्रुवमा राप्रपा : पशुपति शमशेरलाई ४० प्रतिशत पुग्दै गर्दा, संस्थापनको एकता अभियान | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमाडौँ, १ भदौ । पार्टी विभाजनको ११ दिनपछि राप्रपाले बिहीबार अध्यक्ष कमल थापाको गृहजिल्ला हेटौंडामा केन्द्रीय समिति बैठक बोलाएको छ। पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले आगामी आइतबार ४० प्रतिशत केन्द्रीय सदस्यको सनाखत निर्वाचन अयोगमा बुझाउने तयारी गरेपछि राप्रपाले बैठक बोलाएको हो।

 

राप्रपा प्रजातान्त्रिकलाई पार्टी विभाजनका लागि ४० प्रतिशत पुग्न नदिने रणनीति राप्रपाको छ। बैठकमा पार्टी विभाजन संविधान संशोधन लगायत विविध विषयमा छलफल हुने राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले बताए।

अझै पार्टी एकताको प्रयास :

पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बुद्धिमान तामाङ, भुवन पाठक र आङगीता शेर्पा पार्टीलाई एक राख्न औपचारिक/अनौपचारिक छलफलमा छन्। तर, राप्रपा प्रजातान्त्रिक पक्षले भने उनीहरुको प्रस्ताव मान्न इन्कार गरिरहेको उपाध्यक्ष तामाङले बताए।

 

‘अझै पनि पार्टी एकताका लागि हामीले प्रयास गरिरहेका छौं’, तामाङले भने, ‘तर, विद्रोह गरेका साथीहरु वार्ताका लागि तयार देखिइरहनुभएको छैन। हामी उहाँहरुका एजेन्डा सम्बोधन गरी टुक्रिन लागेको पार्टी एक राख्ने अभियानमा निरन्तर लागिरहने छौं।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।